टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीविरुद्ध आपराधिक लाभ (हनी ट्र्याप) र ठगीको आरोप लागेपछि यतिबेला समाज दुई कित्तामा देखिन्छ ।
एकथरी उनलाई योजनाबद्ध ब्ल्याकमेलरका रूपमा चित्रित गर्न व्यस्त छन् ।
अर्काथरी यस घटनालाई सम्बन्ध, बेवफाइ र शक्तिको असन्तुलनको जटिल परिणामका रूपमा हेर्न आग्रह गरिरहेका छन् ।
एकजना व्यवसायीले आफू विवाहित हुँदाहुँदै तुलसासँग सम्बन्धमा रहेको स्वीकार गरेका छन् । पछि सम्बन्ध बिग्रिएपछि तुलसाले अन्तरंग फोटो–भिडियो देखाएर ब्ल्याकमेल गरेको, ठूलो रकम लिएको र मानसिक तनाव दिएको आरोप उनले प्रहरीमा दर्ता जाहेरीमा उल्लेख गरेका छन् ।
उनका अनुसार तनावकै कारण उनले विष सेवन गरेर आत्महत्याको प्रयास गरे र करिब १५ दिन अस्पतालमा उपचार गराए ।
यता तुलसाले भने सामाजिक सञ्जालमार्फत आफू प्रेम सम्बन्धमा रहेको स्वीकार गर्दै विवाह गर्छु भनेर झुक्याएको, पछि आफू विवाहित भएको कुरा लुकाएको थाहा पाएपछि सम्बन्ध टुटेको दाबी गरेकी छन् । उनका अनुसार आफूलाई एकतर्फी रूपमा ‘हनिट्रयाप’ का रूपमा चित्रित गरिएको छ ।
आपराधिक लाभ, ठगी, विश्वास घातजस्ता आरोपमा उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीको दाबी छ ।
प्रहरी अनुसन्धान अन्तिम चरणमा पुगेको बताइँदैछ । कानुनी निष्कर्ष आउन बाँकी छ ।
यस प्रकरणले जन्माएको पहिलो र मूलभूत प्रश्न हो– एक प्रेमी ‘हनिट्रयाप’ मा पर्छ कि पर्दैन?
प्रेम कि प्रलोभन ?
प्रेम स्वेच्छिक सम्बन्ध हो । प्रेममा कोही जालमा फसाइँदैन दुवै पक्ष चाहेर सम्बन्धमा जान्छन् ।
तर जब सम्बन्ध गोप्य हुन्छ, जब एक पक्ष विवाहित हुन्छ र आफ्नो पारिवारिक जीवन लुकाएर अर्कोसँग सम्बन्ध बढाउँछ, त्यहीँबाट जटिलता सुरु हुन्छ ।
अधिकांश अवस्थामा ‘हनिट्रयाप’ को कथा त्यतिबेला जन्मिन्छ, जब सम्बन्ध सार्वजनिक हुन्छ र त्यसले सामाजिक-पारिवारिक संकट निम्त्याउँछ ।
विवाहित पुरुषले आफ्नो जिम्मेवारी र प्रतिबद्धता तोडेर बनाएको सम्बन्ध असफल भएपछि त्यसलाई ‘जाल’ भन्ने चलन समाजमा गहिरो छ ।
‘केटीले झोली फिँजाउँछिन्’ भन्ने भ्रम
एउटी युवती प्रेमको लालसामा कुनै विवाहित पुरुषको ढोका ढकढक्याउन जान्छिन् भन्ने धारणा आफैंमा पितृसत्तात्मक सोचको उपज हो । सम्बन्धमा जाने निर्णय दुवै पक्षको हुन्छ ।
प्रेमको नाममा धेरै युवतीहरू आर्थिक, भावनात्मक र सामाजिक शोषणमा परेका उदाहरणहरू समाजमा प्रशस्तै छन् । विवाह गर्छु, भविष्य बनाउँछु, सँगै बस्छु भन्ने आश्वासन दिँदै वर्षौंसम्म सम्बन्ध राख्ने तर अन्ततः अस्वीकार गर्ने पुरुषहरूको कथा सार्वजनिक कम हुन्छ ।
आज एन्जाइटी र डिप्रेसनको सिकार बनेका सयौं युवतीहरू राजनीतिमा, साहित्यमा, व्यापारमा सम्भावना बोकेका थिए । तर सम्बन्ध विफल भएपछि उनीहरू नै चरित्रहीनको आरोप बोक्न बाध्य हुन्छन् । परिवार, समाज र कानुन प्रायः मौन बस्छ ।
किन सधैं एउटै प्रश्न?
हिजो नाबालिकासँग होटल–होटल गएको आरोप लाग्दा समाजले युवतीमाथि प्रश्न उठायो- ‘किन गएकी थिई?’
तर त्यही समाजले ५० वर्ष नजिकको विवाहित पुरुषलाई सोध्दैन, ‘तपाईं किन गएको’ भनेर ।
यो दोहोरो मापदण्ड नै समस्याको जड हो । सम्बन्ध दुवैको सहमतिमा बनेको हो भने जिम्मेवारी पनि दुवैको हुन्छ । यदि अपराध छ भने अनुसन्धान र न्यायिक प्रक्रियामा जानुपर्छ । तर नैतिकताको तराजु सधैं एउटै पक्षमा मात्रै राखिनु अन्याय हो ।
‘हनिट्रयाप’ शब्दको भावनात्मक प्रयोग
‘हनिट्रयाप’ शब्द आफैंमा अत्यन्त भावनात्मक छ । यसले महिलालाई योजनाबद्ध फसाउने पात्रको रूपमा चित्रित गर्छ र पुरुषलाई पीडितको भूमिकामा राख्छ । तर हरेक सम्बन्धमा शक्ति सन्तुलन, आर्थिक हैसियत, सामाजिक प्रतिष्ठा र वैवाहिक स्थितिजस्ता पक्षहरू पनि हेर्नुपर्छ ।
यदि कोही विवाहित पुरुषले सम्बन्ध लुकाएर अगाडि बढ्छ भने त्यो सम्बन्ध सुरुदेखि नै असन्तुलित र नैतिक रूपमा जटिल हुन्छ । प्रथम दृष्टिमै सही नभएको सम्बन्धले सही ‘ल्याण्डिङ’ गर्दैन । यो कटु यथार्थ हो ।
समाधान भावुकता होइन, जिम्मेवारी
‘हनिट्रयाप’ भन्दै अत्यधिक भावुक बन्नु समाधान होइन ।
नियत सफा राख्नु, पारिवारिक प्रतिबद्धता इमानदारीपूर्वक निभाउनु, अफिस सकिएपछि सिधै घर जानु । यी साधारण तर प्रभावकारी उपाय हुन् ।
मिटिङ र सेमिनारको बहानामा नुवाकोट, नगरकोट वा धुलिखेल पुगेर पछि त्यसलाई ‘जाल’ भन्नु आत्मप्रवञ्चना मात्र हुन सक्छ ।
अन्ततः प्रेमलाई अपराध बनाउने होइन । धोका, छल र शोषणलाई कानुनको दायरामा ल्याउने हो । सम्बन्ध स्वच्छ र पारदर्शी भए ‘हनिट्रयाप’ को कथा कम हुन्छ ।