पार्टीभित्रैबाट अपदस्थ भएपछि सक्रिय राजनीतिबाट अलग भएका नेपाली कांग्रेसका यसअघिका सभापति शेरबहादुर देउवा सिंगापुर गएका छन् ।
निर्वाचनको मुखमा उनी गएराति १२ बजे सिंगापुर एयरलाइन्सको विमानमार्फत त्यसतर्फ प्रस्थान गरेको त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल स्रोतले बताएको छ ।
सहयोगी भानु देउवा पनि उनीसँगै सिंगापुर उडेको अध्यागमनको रेकर्डमा देखिएको छ ।
पत्नी आरजु राणा भने तीन दिनअघि नै सिंगापुर गइसकेको पनि खुलेको छ ।
निर्वाचनको मुखमा गगन थापा नेतृत्वको समूहले पार्टीभित्रैबाट वैधानिक कु गरेपछि देउवा शक्तिबाट बेदखल हुन पुगेका थिए ।
विशेष महाधिवेशनमार्फत कांग्रेस गगन थापाको नेतृत्वमा गएपछि देउवाले न निर्वाचनका लागि टिकट वितरण गर्न पाए न त आफैले टिकट पाए । चुनावी अभियानमा पनि उनी देखिएका थिएनन् । उनले निर्वाचनलाई लिएर कुनै अभिव्यक्ति पनि सार्वजनिक गरेका छैनन् ।
गृहजिल्ला डडेल्धुराबाट २०४८ सालदेखि लगातार जित्दै आएका उनी यसपालि पहिलोपल्ट चुनावमा गयल हुने भएका छन् । उनको ठाउँमा नैनसिंह महरले टिकट पाएका छन् ।
देउवा दम्पती गत भदौ २४ गते जेनजी आन्दोलनकारीहरुबाट कुटपिटको शिकार भएको थियो । त्यतिखेर आरजु केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री थिइन् ।
ओली पनि प्रदर्शनकारीबाट लखेटिएपछि बालुवाटारबाटै हेलिकप्टर चढेर भागेका थिए ।
पछिल्लो समय देउवा पनि ओलीकै रोडम्यापमा लागेर संसद पुनर्स्थापनाको निवेदन सर्वोच्चमा दर्ताका पक्षमा नेताहरुलाई परिचालन गर्न पुगेका थिए । यसले कांग्रेसभित्र असन्तुष्टि चुलिएको थियो ।