महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर परिसरमा प्रहरीमाथि जाइलाग्ने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौं-१३, चागल बस्ने वर्ष २५ का रिजन श्रेष्ठ छन् ।
उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
पशुपतिनाथ मन्दिरमा शिवरात्रिको अवसरमा श्रद्धालु भक्तजनलाई अभद्र व्यवहार र राष्ट्र सेवक प्रहरी कर्मचारीको कर्तव्य पालनामा व्यवधान गरेको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान चलिरहेको परिसरको विज्ञप्तिमा उल्लेख छ ।
पशुपतिनाथ मन्दिरको दर्शनका लागि पुगेका महिलालाई जिस्क्याउँदै गरेको अवस्थामा प्रहरीले सम्झाउन खोज्दा ती व्यक्ति उल्टै प्रहरीमाथि हातपातमा उत्रिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।