प्रधानमन्त्री सुशीला कार्कीले सुनील थापाको निधनमा शोक व्यक्त गर्दै नेपाली र भारतीय चलचित्र जगतले एउटा दरिलो खम्बा गुमाउनुपरेको भनी टिप्पणी गर्नुभएको छ ।

अभिनेता सुनील थापाको आज शनिबार बिहान ६८ वर्षको उमेरमा निधन भएपछि प्रधानमन्त्री कार्कीले एक विज्ञप्ति जारी गरी यस्तो टिप्पणी गर्नुभएको हो ।

‘नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनील थापाज्यूको असामयिक निधनको खबरले म मर्माहत भएकी छु,’ प्रधानमन्त्री कार्कीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘उहाँको निधनसँगै नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाउन पुगेको छ। ‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा उहाँका खलनायक र सहनायकका उम्दा भूमिका करोडौँ मन जित्न सफल भए। उहाँका यी हरेक चरित्र हामी दर्शकको स्मृतिमा सदैव जीवित रहनेछन्। चार दशकभन्दा बढी समयको उहाँको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहनेछ। यस दुःखद् घडीमा म दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’