नेपाली फिल्म क्षेत्रका सदावहार, चर्चित र लोकप्रिय अभिनेता सुनील थापाको ६८ वर्षको उमेरमा निधन भएको छ ।

शनिबार बिहान शंखमूलस्थित आफ्नै अपार्टमेन्टमा बेहोस अवस्थामा फेला परेपछि उनलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भयो । उनको निधनले नेपाली मात्र होइन, भारतीय फिल्म क्षेत्रलाई समेत शोकाकुल बनाएको छ ।

सुनील थापाले करिब साढे तीन दशकभन्दा लामो अभिनय यात्रामा नेपाली र हिन्दी दुवै सिनेमामा प्रभावशाली उपस्थिति जनाए । नेपाली दर्शकमाझ उनी विशेष गरी फिल्म ‘चिनो’ मा निभाएको ‘राते काइँला’ पात्रबाट अत्यन्तै लोकप्रिय बने । यस चरित्रलाई नेपाली फिल्म इतिहासकै प्रभावशाली खलनायक मानिन्छ ।

‘चिनो’ ले उनलाई स्थापित गर्‍यो तर उनको पहिलो नेपाली फिल्म भने ‘मसाल’ थियो ।

उनले सन् १९८१ तिर हिन्दी सिनेमामा प्रवेश गरेका थिए । कमल हासन अभिनीत ‘एक दुजेके लिए’ उनका सुरुआती हिन्दी फिल्महरूमध्ये एक हो । त्यसपछि ‘मानव हत्या’, ‘आजकी आवाज’, ‘अल्बेला’, ‘नासिबवाला’ लगायत थुप्रै फिल्ममा उनले खलनायक तथा चरित्र भूमिकामा अभिनय गरे ।

पछिल्ला वर्षहरूमा पनि उनी अभिनयमा उत्तिकै सक्रिय नै थिए । सन् २०१४ को चर्चित हिन्दी फिल्म ‘मेरी कोम’ मा उनले प्रियंका चोपडाको बक्सिङ कोचको भूमिका निभाए । साथै, बलिउड अभिनेता मनोज बाजपेयीको मुख्य भूमिका रहेको वेब सिरिज ‘द फेमिली म्यान’ को तेस्रो सिजनमा उनले नागाल्याण्डका एक प्रभावशाली स्थानीय नेताको भूमिका निर्वाह गरे ।

नेपाली फिल्मतर्फ फर्किंदा, सुनील थापाले राँको, सपना, परिभाषा, गोर्खा पल्टन, शिकारी, शिकारी–२, पापी मान्छे, क्याप्टेन, कर्म योद्धाजस्ता दर्जनौं फिल्ममा अभिनय गरे ।

उनी लोकप्रिय हास्य टेलिशृंखला ‘मेरी बास्सै’ मा पनि देखिएका थिए । पछिल्लो समय उनी फिल्म ‘एक्लो’ मा संलग्न थिए ।

फिल्म निर्देशक तुलसी घिमिरेसँग उनको सम्बन्ध विशेष रह्यो । तुलसीकै निर्देशनमा बनेको ‘चिनो’ नै उनलाई चिनाउने एउटा कोशेढुंगा कृति बन्न पुग्यो ।

तुलसीकै कमब्याक फिल्म ‘पहाड’ मा समेत उनले मुखियाको भूमिका निर्वाह गरेका थिए । यही सहकार्यका क्रममा सुनीलका छोराछोरीको नामकरणसमेत तुलसीले गरेका थिए— छोरा ‘अनमोल’ र छोरी ‘प्रिसियस’।

सुनील थापा अन्तिम समयसम्म फिल्ममा सक्रिय थिए । उनको निधनका बेला उनी फिल्म ‘राम नाम सत्य’ को सुटिङमा थिए, जहाँ उनी दाहसंस्कारसम्बन्धी दृश्यमा अभिनय गर्ने तयारीमा थिए । संयोग पनि कस्तो ? उनका लागि फिल्मको सेटमा चिता तयार थियो । तर उनी त्यस सेटमा जानै नपाई वास्तविक इहलीला बिसाउन पुगे ।

पर्दामा प्रायः खलनायकबाट उठेर उनको यस क्षेत्रमा यस्तो नायकत्व निर्माण भयो कि अहिलेसम्म त्यो उचाइ कसैले छुन सकेको छैन ।

व्यक्तिगत जीवनमा उनी सहकर्मीहरूसँग न्यानो सम्बन्ध राख्ने कलाकारका रूपमा चिनिन्थे । नयाँ पुस्ताका कलाकारदेखि अनुभवी निर्देशक र अभिनेता सम्मले उनलाई एक अनुशासित, सहयोगी र भावनात्मक व्यक्तित्वका रूपमा सम्झिरहेका छन् ।

अब उनको भौतिक देह हामीसँग छैन । उनको कीर्ति मात्र हामीसँग शेष छ, जुन युगौँ युगसम्म रहिरहनेछ । खासगरी नेपाली र भारतीय सिनेमामा उनले छाडेको अभिनयको छाप र खलनायक चरित्रको पुनर्परिभाषा लामो समयसम्म स्मरणीय रहनेछ ।