विवादास्पद व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । उनलाई हिरासतमा राखी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति पनि दिइसकेको छ ।

प्रहरी हिरासतबाट छुटेको तीन साता नबित्दै प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले फेरि पक्राउ गरेको हो । यसअघि गत माघ ५ गते पोखराबाट पक्राउ परेका उनी माघ ६ गते हाजिरी जमानीमा छुटेका थिए ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालका संयोजक प्रसाईलाई शुक्रबार काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरिएको हो । उनका केही गतिविधि शंकास्पद रहेको र चुनावलाई लक्षित गरेर उनले भड्काउपूर्ण क्रियाकलाप गरेको पाइएपछि नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले साइबर अपराध सम्बन्धी कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको बताए। ‘निर्वाचन आयोगबाट आचारसंहित उल्लंघनबारे अनुसन्धान गरी कारबाही गर्न पत्र आएको थियो, अदालतबाट पक्राउ अनुमति लिएरै पक्राउ गरिएकाे हो,’ काफ्लेले भने।

आयोगले निर्वाचन व्यवस्थापनमा अवरोध हुने गरी कसूर गरेकाले साइबर अपराध अन्तर्गत कारबाहीका लागि पत्र पठाएको थियो ।

व्यवसायी प्रसाईं यसअघि पनि पटक-पटक पक्राउ परेका थिए । उनी फागुन २१ को प्रतिनिधि सभामा अवरधो गर्न खोज्ने प्रसाई लगायत केही व्यक्तिलाई निगरानी गर्न आयोगले सरकारलाई भनेको छ ।

स्रोतका अनुसार प्रसाईले तराईमा धार्मिक उत्तेजना फैलाउने र दंगा गराउने उद्देश्यले केही तयारी गरेका थिए । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि करिब ३ घण्टा बसेर चुनाव भाँड्ने विषयमा सल्लाह गरेका थिए ।

यी सूचना पाएपछि अब सरकारले उनीमाथि चैत १५ गतेको तीनकुने घटनामा लगाइएका मुद्दा पनि फिर्ता नलिने भएको छ । जबकि यसअघि उनले शान्तिपूर्ण गतिविधि गर्ने वाचा र लिखित सहमति गरेपछि सरकारले मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढाएको थियो ।