सर्वोच्च अदालतले पनि भ्रष्टाचार मुद्दाका अभियुक्त नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले विशेष अदालतले यसअघि गरेको आदेश नै सदर गरेको हो । विशेषले थुनामा पठाएपछि अधिकारी त्यसविरुद्ध निवेदन लिएर सर्वोच्च पुगेका थिए ।

अधिकारीले निवेदनमा धरौटी तिरेर बाहिरै बसी मुद्दा लड्न पाउनुपर्ने माग गरेका थिए ।

सर्वोच्चले धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो ।

विशेष अदालतले अधिकारीलाई २१ मंसिरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो। न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले यस्तो आदेश दिएको थियो ।

नलिञ्चोकमा हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार गरेको बिगो माग दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी र भण्डारीसहित ५ जनाविरुद्ध मंसिर १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

अधिकारीविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको अभियोगमा अर्को मुद्दा पनि विशेष अदालतमा विचाराधीन छ ।