चुनावी अभियानका क्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँगै अछाम पुगेका पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ ।

काठमाडौंस्थित ग्रान्डी अस्पतालले आइतबार जारी गरेको विज्ञप्तिअनुसार सिटौलाको १२:४५ बजे मृत्यु भएको जनाएको छ ।

गत शुक्रबार बिहान अछामको मंगलसेन नगरपालिका–४, बाँगापाटामा सिटौला अचानक अचेत भएर लडेका थिए । अवस्था गम्भीर भएपछि उनलाई तत्काल जिल्ला अस्पताल अछाम पुर्‍याइएको थियो । तर त्यहाँ उनलाई ४५ मिनेट जति कृत्रिम श्वासप्रश्वास (सीपीआर) दिएर राखिएको थियो । तर उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको थियो ।

उनको हवाई उद्धारका लागि गृहमन्त्री ओमप्रकाश अर्यालले विशेष पहल गरेका थिए ।

शुक्रबार बिहान ९ बजे बालेन मंगलसेनस्थित पार्टी कार्यालय पुग्ने कार्यक्रम थियो । सोही कारण रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरू कार्यालयमा भेला भइरहेका थिए । तर बालेनसहितको टोली भने पार्टी कार्यालय जानै नपाई अस्पताल मोडिनुपरेको थियो ।

काठमाडौंको टोखा बस्दै आएका सिटौला बालेनसँगै सुदूरपश्चिम यात्राका क्रममा अछाम पुगेका थिए । जिल्ला अस्पताल अछामका प्रमुख डा. कमलेश यादवका अनुसार सिटौलालाई अस्पताल ल्याउँदा नै अवस्था गम्भीर थियो । ‘उहाँ अचेत अवस्थामा हुनुहुन्थ्यो । रक्त सञ्चार थिएन, शरीर चिसो भइसकेको थियो र श्वासप्रश्वाससमेत चलिरहेको थिएन,’ डा. यादवले भने ।

प्रारम्भिक परीक्षण गर्दा टाउकोमा चोट लागेको थियो । चोट लागेको ठाउँमा रगत जमेको थियो ।

ग्रान्डी अस्पताल पुर्‍याएपछि सिटौलालाई सघन उपचार कक्ष (आईसीयू) मा राखियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई ब्रेन ह्यामरेज भएको पत्ता लाग्यो । मस्तिष्कको नसा फुटेर रगत जमेको चिकित्सकको भनाइ छ ।

बालेनका सहयोगीहरुका अनुसार बिहानको चिया खाएर निस्कने क्रममा स्कारपियो गाडीबाट ओर्लन खोज्दा सिटौला ढलेका थिए ।

चलचित्र पत्रकार संघका पूर्वअध्यक्षसमेत रहेका सिटौला ‘द सिनेमा टाइम्स’ अनलाइन पोर्टलका सम्पादक तथा अध्यक्ष थिए । उनले केही समय नेपाल टेलिभिजनमा चलचित्रसम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए ।