संयुक्त अरब इमिरेट्स (युएई) सरकारले ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) को अवसरमा २६७ जना नेपाली नागरिकलाई आममाफी दिएकोप्रति नेपाल सरकारले धन्यवाद ज्ञापन गरेको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी युएई सरकारको यस मानवीय तथा मित्रवत् कदमप्रति हार्दिक कृतज्ञता र प्रशंसा व्यक्त गरेको हो ।

नेपाल–युएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भाव र सहकार्यको प्रतीकका रूपमा यस आममाफीलाई उच्च मूल्याङ्कन गरिएको मन्त्रालयले जनाएको छ ।

विज्ञप्तिअनुसार अबुधाबीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार पटक–पटक गरेको अनुरोधलाई सकारात्मक रूपमा सम्बोधन गर्दै युएई सरकारले आममाफीको निर्णय गरेको हो ।

आममाफी पाएका नेपाली नागरिकहरूका विरुद्ध अन्य कुनै कानुनी मुद्दा वा प्रतिबन्ध नरहेको खण्डमा युएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनीहरू स्वदेश फर्किन सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले युएई सरकारलाई पुनः धन्यवाद दिँदै आगामी दिनहरूमा पनि दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेको छ ।