अहिले नेपाली राजनीतिमा भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएका तीन पार्टीका तीन नेताबीच प्रत्यक्ष सार्वजनिक बहस गर्नुपर्छ कि पर्दैन भनेर बहस भइरहेको छ । एकथरीले यस्तो बहसको पक्षमा जोडतोडले वकालत गरिरहेका छन् । एमाले अध्यक्ष एवं जेनजी आन्दोलन हुँदाका प्रधानमन्त्री केपी शर्मा ओलीले बहसका लागि तयार रहेको फेसबुकमा लेखेका छन् । लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले कम्तीमा ओलीसँग बहस नगर्ने प्रतिक्रिया दिएका छन् । कांग्रेस सभापति गगन थापाबाट यसबारे कुनै प्रतिक्रिया आइसकेको छैन ।
वास्तवमा यो ‘डिबेट गर्ने कि नगर्ने’ भन्ने प्राविधिक प्रश्न होइन । यो त भदौ २३ को आत्मा, रगत र सपनासँग जोडिएको नैतिक–राजनीतिक प्रश्न हो ।
कांग्रेस विशेष महाधिवेशनले यदि साँच्चै इतिहासको बोझ बोक्ने कि भविष्यको बाटो कोर्ने थलो भनेर छिनोफानो गरिसकेको हो भने त्यसको जगमा अब सम्झौता होइन, स्पष्टता चाहिन्छ । यदि गगनको नेतृत्वमा कांग्रेसले स्पष्टताको बाटो रोजेको हो भने अब गगनले केपी शर्मा ओलीसँग चुनावअघि कुनै सार्वजनिक मञ्च सेयर गर्नु हुँदैन ।
भदौ २३ राज्यसत्ताको दमनविरुद्ध उठेको विवेकको आवाज हो । त्यस दिन सडकमा ढलेका सपना, बगेको रगत र निमोठिएका आत्माहरू आज पनि जवाफ खोजिरहेका छन्- राजनीतिले के सिक्यो ? यदि त्यही इतिहासको जगमा उभिएर कांग्रेसले विशेष महाधिवेशन गर्छ र तत्कालीन सभापति शेरबहादुर देउवालाई नेतृत्वबाट बेदखल बनाउँछ भने ओलीलाई ‘नर्मलाइज’ गर्ने, ‘लेजिटिमेट’ गर्ने वा बराबरीको राजनीतिक पात्रझैँ प्रस्तुत गर्ने कुनै पनि कदम महाधिवेशनको मर्म र सौन्दर्यविरुद्ध जान्छ। गगन र विश्वप्रकाशले समेत यसमा हेक्का राख्नुपर्छ ।
संसदीय प्रणाली मानेपछि बहसका लागि विधि र प्रक्रिया छन् । चुनावपछि सदन आउनेछ । त्यसले सभामुख चयन गर्नेछ । प्रधानमन्त्री र विपक्षी दलको नेता बनाउनेछ । त्यतिखेर बोल्नका लागि समय दिइनेछ । त्यो बहस संवैधानिक, औपचारिक र उत्तरदायी प्रकृतिको हुनेछ । तर चुनावअघि ‘डिबेट’का नाममा ओलीसँग मञ्च सेयर गर्नु भनेको भदौ २३ पछिको राजनीति बुझ्न असफल हुनु हो । त्यो पीडादायी स्मृतिमाथि सौन्दर्य प्रसाधन लगाएर इतिहासलाई हल्का बनाउनु जस्तै हो ।
कांग्रेस सभापति गगन थापाले सहिद श्रद्धाञ्जलीमा “००७ सालदेखि जेन–जी विद्रोहसम्म”को निरन्तरता उल्लेख गर भदौ २३ लाई राजनीतिक अनुमोदन र सम्मान प्रस्टसँग प्रकट गरेका छन् । त्यसले प्रस्ट सन्देश दिन्छ- हामी कहाँबाट आएका हौँ र कहाँ जान चाहन्छौँ । त्यही सन्देश र अर्थलाई खारेज गर्ने गरी ओलीसँग उभिनु आत्मविरोध हो । सहिदको आत्माको शान्तिको कामना केवल माल्यार्पणले होइन, राजनीतिक आचरणले हुन्छ । प्रायश्चित भाषणले होइन, निर्णय, व्यवहार र आचरणले हुन्छ ।
यता कांग्रेसभित्रैका केही ‘केपी ओलीका भेरियन्टहरू’ अर्थहीन ट्रोल घुमाएर रुखमा मत मागिरहेका छन् । ओलीको राजनीतिक सपनाका मलामी बन्ने कांग्रेसहरू लाज मान्न पनि नसकेको देखियो । अरूलाई होचो देखाएर आफू अग्लो देखिन खोज्ने प्रवृत्ति नै ओलीवादको सार हो । ओलीले अहिले पनि जेनजी आन्दोलनलाई विध्वंशका रुपमा परिभाषित गर्न खोजेका छन् र सहिदहरुलाई आतंककारी करार गर्न उनलाई हतारो छ । ओलीको यही सिद्धान्त देउवाले बोकेका छन् । देउवाले कांग्रेसलाई पनि ओलीवादको खोल ओढाउन खोज्दा जीवनको उत्तरार्धमा निकै अपमानजनक तवरले राजनीतिबाटै बाहिरिनुपर्यो । आफ्नो मात्र होइन, श्रीमतीको राजनीतिक महत्त्वाकांक्षालाई समेत चिहानमा पुर्याइदिए ।
यसैले कुरा केवल कांग्रेसको मात्र होइन । एमाले, कांग्रेस र आम मतदाताले समेत केपी शर्मा ओली र शेरबहादुर देउवालाई राजनीतिक रूपमा बहिष्कार गर्नुपर्छ । उनीहरुलाई सार्वजनिक मञ्चमा बोलाउनु पनि हुँदैन । कुनै पनि सार्वजनिक छवि भएका अगुवा एवं नेताहरुले उनीहरुसँग मञ्च सेयर गर्नु हुँदैन। किनकि यी दुई अनुहारहरू परिवर्तनका प्रतीक होइनन्, थकानका प्रतिरुप हुन् । लोकतन्त्रको ऊर्जा चुसेर आफैं टिकिरहने राजनीतिक अपसंस्कृतिका प्रतिनिधि हुन् । मतदाताले अब कम खराबको जालो पनि च्यात्नुपर्छ । एकाध नेताहरुको अपरिहार्यताको भ्रम पनि तोड्नुपर्छ।
नयाँ पुस्ता भीड होइन, चेतना हो । जेन–जी विद्रोहले खोजेको मूल्यको राजनीति हो । उत्तरदायी चरित्र हो । यस विद्रोहले भन्छ- हामी पुराना अनुहारसँग नयाँ सपना साट्दैनौँ । हामी मञ्च सेयर गरेर ओली र देउवाको दागी अनुहारलाई सेतो बनाउने मौका दिँदैनौँ । यदि विशेष महाधिवेशन साँच्चै विशेष थियो भने यही स्पष्ट रोडम्यापमा कांग्रेस अघि बढोस् । भदौ २३ को मर्म र भावनासँग अनि कलिला युवाको रगतसँग सम्झौता नहोस् । ओली र देउवालाई बहिष्कार गर्नु नै नयाँ राजनीतिप्रति पहिलो इमानदार कदम हुनेछ ।