राष्ट्रपति रामचन्द्र पौडेलले जापानको औपचारिक भ्रमण गर्ने भएका छन् ।
बिहीबार मन्त्रिपरिषद्को आजको बैठकले उनको भ्रमण स्वीकृत गरेको छ ।
स्वीकृत तालिका अनुसार राष्ट्रपति पौडेल यही माघ १८ गते जापान प्रस्थान गर्नेछन् । उनको जापान भ्रमण चार दिनको हुनेछ ।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको विशेष अवसर पारी राष्ट्रपति पौडेल जापान जान लागेका हुन् ।
‘नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठको उपलक्ष्यमा २०८२ साल माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकपछि गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले भने ।
यसअघि राष्ट्रपति पौडेल गत कात्तिक १७ गते २० गतेसम्म कतारको औपचारिक भ्रमणमा गएका थिए ।
तीन महिनाको बीचमा उनी दोस्रोपटक विदेश भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्की भने आफ्नो कार्यकालको पाँच महिना बित्न लाग्दा पनि विदेश भ्रमणमा गएकी छैनन् ।