राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति संगीता सिंह भण्डारीविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भण्डारीसहित १९ जना र एक कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
प्रतिष्ठानको सीटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए । प्रतिष्ठानमा खरिद गरिएको मेसिन निर्धारित सर्त तथा मापदण्ड बमोजिम नरहेको अख्तियारले जनाएको छ।
तोकिएको मापदण्डभन्दा कमसल किसिमको मेसिन खरिद गरेर सात करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ ९९ पैसा हानिनोक्सानी गरेको अख्यितारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ। तत्कालीन उपकुलपति भण्डारीसँगै १९ जना र मेसिन आपूर्तिकर्ता हिमालयन मेडिकेट प्रालिबाट सोही बराबरको विगो असुल उपर गर्न अख्तियारले दाबी गरेको छ।
संगीता पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी हुन् ।
यसअघि उनीविरुद्ध अख्तियारले १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । त्यही मुद्दाका कारण उनी पदबाट निलम्बित भएकी हुन् । उक्त मुद्दा अहिले पनि विचाराधीन छ ।