चर्चा कमाउनका लागि चर्का अभिव्यक्ति दिएर सामाजिक सञ्जालमा छाउन खोज्ने भद्रप्रसाद नेपाल स्वागत नेपालले प्रहरीसमक्ष माफी मागेका छन् ।

नेपालले आज प्रहरीमा उपस्थित भएर माफी मागेका हुन् । उनले अबदेखि त्यस्ता अभिव्यक्ति नदोहोर्‍याउने वाचा पनि गरेका छन् ।

नेपालले सामाजिक सञ्जालमा हिंसालाई प्रश्रय दिने, घृणा फैलाउने र समाजलाई भड्काउने खालका अराजक अभिव्यक्ति दिई भ्रम सृजना गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई नियन्त्रणमा लिएको थियो ।

झापा जिल्लाको बिर्तामोड नगरपालिका–७ घर भएका ५० वर्षीय नेपाल झापा–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् ।

सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका अभिव्यक्ति दिई हिंसालाई प्रश्रय दिने खालका कानुनविपरीतका अभिव्यक्तिहरू दिएको भन्दै ब्यूरोले उनलाई सोधपुछ गरेको थियो ।

नेपालले ‘अब उप्रान्त यस्तो गलत अर्थ लाग्ने अभिव्यक्ति दिने छैन। कानुनको पालना गर्ने गरी अभिव्यक्ति दिनेछु’ भनी लिखित कागज गरेको ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जनाएका छन्।

प्रहरीले उनलाई खोजी भएका बखत उपस्थित हुने गरी छाडेको छ ।

साथै, सामाजिक सञ्जाल लगायत अन्य डिजिटल प्लेटफर्महरूमा कानुन विपरीतका अभिव्यक्ति दिने तथा श्रव्य दृश्य सामाग्रीहरू प्रसारित गर्ने उपर समेत ब्यूरोबाट निगरानी भइरहेको र यस्ता गतिविधिमा संलग्नता पुष्टि भएमा कानुन बमोजिम कारबाही ब्यूरोले जनाएको छ।