नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले आफूले पार्टी बदलेको र अब देश बदल्ने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पदबहाली गरेपछि पार्टीको निर्णय पुस्तिकामा उक्त संकल्प उल्लेख गरेका हुन् ।
उनले लेखेका छन्, ‘बदल्यौं कांग्रेस, बदल्छौं देश । यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ- देशको समुन्नति ।’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापालाई आगामी प्रतिनिधिसभा चुनावमा प्रधानमन्त्री पदको उम्मेदवार बनाएर जाने निर्णय गरेको छ ।
थापा गत पुस २७ देखि ३० सम्म काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिइसकेको छ।
निर्वाचित भएपछि थापा शुक्रबार पहिलोपल्ट कांग्रेस मुख्यालय सानेपा पुगेका हुन्।
गगनले भने- बदल्यौँ कांग्रेस, बदल्छौँ देश
२०८२ माघ ९ गते १५:४५