धेरै खालका अन्योल र अवरोधहरु चिर्दै निर्वाचन सुनिश्चित गराएकामा सरकारप्रति जेनजी अगुवाहरु पनि खुसी व्यक्त गरेका छन्।
जेनजी आन्दोलनको अग्रभागमा रहेकी नेतृ रक्षा बमले सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गर्दै मुलुकबाट अब अनिश्चय अन्त्य भएको र लोकतान्त्रिक स्थायित्वको ढोका खुलेको भनी टिप्पणी गरेकी छन्।
उनले लेखेकी छन्, ‘अन्योल र अनिश्चितताको यो यात्रामा हिजो हामीले एउटा ठूलो मोड पार गरेका छौँ। जेनजी आन्दोलनपछि देशले भोगेको सङ्क्रमणकाल,अन्योल र डरका बीच लोकतान्त्रिक निकास सम्भव हुन्छ कि हुँदैन भन्ने प्रश्न हाम्रो र हरेक नागरिकको मनमा थियो। तर हिजो, सम्पूर्ण दलहरूले निर्वाचनमा आफ्ना उम्मेदवार उठाएर देशलाई फेरि सुदृढ लोकतन्त्रतर्फ धकेलेका छन् र यसै क्षणबाट आशाको नयाँ ढोका खुलेको छ। यसका लागि धन्यवाद, प्रधानमन्त्रीज्यू। तपाईं त्यो काँध हुनुहुन्छ जसले सिङ्गो देशको भार थामिरहेछ। हजार आलोचना, हजार शंका र हजार बोझका बीच पनि देशलाई ढल्न नदिई उभ्याइरहनुभएको छ। अब जिम्मेवारी हाम्रो हो।अब देशको भाग्य जनताकै हातमा छ। सचेत बनौं।’
बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले पनि प्रधानमन्त्री कार्कीको तस्बिर अंकित पोस्टर नै बनाएर प्रधानमन्त्रीप्रति प्रशन्नता र कृतज्ञता प्रकट गरेको छ।
फ्रन्टले लेखेको छ, ‘आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका सन्दर्भमा समयमै, पारदर्शी र सहभागीपूर्ण मनोनयन प्रक्रिया सुनिश्चित गर्नुभएको नेतृत्वका लागि सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू प्रति हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। सबै राजनीतिक दल तथा उम्मेदवारहरूप्रति व्यक्त गर्नुभएको सम्मान र आभारले लोकतान्त्रिक प्रक्रियाप्रतिको जनविश्वास थप सुदृढ बनाएको छ।’
