शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।

उनले मंगलबार मनोनयनपत्र दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। म्याग्दी पुनको गृहजिल्ला पनि हो। उनले ताररहित प्रविधि र ड्रोनको प्रयोग गरी म्याग्दीका दुर्गम गाउँमा सूचना तथा स्वास्थ्यमा महत्त्वपूर्ण योगदान गरेका छन्। यही कारण उनले प्रसिद्ध म्यागासेसे पुरस्कार पनि प्राप्त गरेका छन्।

कार्की सरकारका तीन मन्त्रीले सरकार छाडेर दलमार्फत चुनावी प्रतिस्पर्धाको बाटो रोजेका बेला पुनले भने स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

पुनले राजीनामा दिनुअघि आफूलाई प्राप्त राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक सरकारलाई दान गरेका छन्।