प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन्।

आज सोमबार साँझ बालुवाटार पुगेर उनले राजीनामा दिएका हुन्।

सचिवालयका सदस्यसहित बालुवाटार पुगेका उनले प्रधानमन्त्री कार्कीसमक्ष आफ्नो राजीनामापत्र पढेर पनि सुनाएका थिए।

उनले ललितपुर-२ बाट चुनाव लड्न लागेकोले राजीनामा दिएको बताएका छन्।

भिडिओमा हेर्नुहोस्:

आफूलाई विश्वास गरी चार महिना मन्त्रीका रुपमा काम गर्ने अवसर दिएकामा उनले प्रधानमन्त्रीसमक्ष आभार पनि प्रकट गरे।

सोमबार नै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिएका छन्। उनी पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्दै छन्।

यस्तो छ राजीनामापत्रको व्यहोरा:

सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल सरकार

विषय : सञ्चार तथा सूचना प्रविधि मन्त्रीको पदबाट राजीनामा ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
जेनजी जनआन्दोलनको जग र नागरिक आकांक्षाबाट अभ्युदित सम्माननीय प्रधानमन्त्रीज्यू नेतृत्वको वर्तमान सरकारमा मलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी प्रदान गरेर देखाउनुभएको विश्वास, दृढनिश्चय र सदासयताप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछु ।

देशको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश तथा पहिलो महिला प्रधानमन्त्रीका रूपमा सम्माननीयज्यूको कीर्तिमानी मन्त्रिपरिषद्मा रहन पाउनु मेरालागि गौरवपूर्ण र अविस्मरणीय हो । साथै, २०८२ फागुन २१ मा हुन गइरहेको आमनिर्वाचनलाई सफल बनाउन सम्माननीय प्रधानमन्त्रीज्यूबाट भइरहेको अथक प्रतिबद्धता र अहोरात्र मेहनतमा सानो हिस्साका रूपमा यसबीच जोडिन पाएकामा आफूलाई भाग्यमानी ठानेको छु । सम्माननीय प्रधानमन्त्रीज्यू नेतृत्वको यो गैरराजनीतिक नागरिक सरकारले सत्ता, शक्ति र स्वार्थभन्दा माथि उठेर इमानदारी, निष्ठा र नैतिकताको नवीनतम् उदाहरण कायम गरेको छ । सरकारको यो अनुपम गरिमाको एक अंगका रूपमा मैले आफ्नो ४ महिने संक्षिप्त कार्यकालभरि मन्त्रालयको नेतृत्व निष्पक्षता, पारदर्शिता र राष्ट्रिय हितका आधारमा परिपालना गर्ने प्रयत्न गरें ।

तर, वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षाको परिप्रेक्ष्यमा अब दलीय राजनीतिमार्फत सक्रिय एवं उत्तरदायी भूमिका निर्वाह गर्नु वाञ्छनीय भएको निष्कर्षमा म पुगेको छु । अतः वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदानमा छिर्नुअघि नै मैले पदबाट राजीनामा दिने निर्णय लिएको छु । यो राजीनामा स्वीकार गरिदिनुहुन सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष सविनय अनुरोध गर्दछु ।

अब मेरो सार्वजनिक जीवन राष्ट्र, नागरिक, लोकतन्त्र, सुशासन र मानव गरिमाको उन्नयनमा समर्पित रहने अटल प्रतिबद्धता व्यक्त गर्दछु ।

भवदीय,
जगदीश खरेल
मन्त्री, सञ्चार तथा सूचना प्रविधि
वि.सं. २०५२ माघ ५
ने. सं. ११४६ सिल्लाथ्व पारु