नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीभित्र देखिएको शेरबहादुर देउवा र गगन थापा समूहबीचको विवाद अन्त्य गर्दै ऐतिहासिक सहमति र एकतामा जान आग्रह गरेका छन्।
उनले मुलुक, लोकतन्त्र र राष्ट्रिय स्वाधीनता नै चुनौतीपूर्ण मोडमा पुगेको उल्लेख गर्दै आसन्न निर्वाचनमा कांग्रेसलाई बलियो बनाउन आन्तरिक एकता अपरिहार्य भएको बताएका छन्।
विश्वकर्माले हाल नेपाली कांग्रेस अनावश्यक विवादमा अल्झिएर निर्वाचनको तयारीमा दौडन नसकेको टिप्पणी गरेका छन्।
नियमित महाधिवेशन हुँदाहुँदै विशेष महाधिवेशन किन गर्नुपर्यो, पार्टीले निर्णय नगर्दा जबर्जस्ती आयोजना किन गरियो, नीति महाधिवेशन भनिएर नेतृत्व चयनमा किन प्रवेश गरियो भन्ने प्रश्नहरूले कांग्रेसलाई कमजोर बनाएको उनको भनाइ छ।
उनले विशेष महाधिवेशनको प्रक्रिया, निर्वाचन आयोगको भूमिका र अदालतको निष्क्रियताप्रति आफू असहमत रहेको स्पष्ट पार्दै यससम्बन्धी विषयहरू आयोग र अदालतमा विचाराधीन रहेको बताए। तर प्रक्रियागत विवाद हुँदाहुँदै पनि फागुन २१ को निर्वाचनको परिणामलाई केन्द्रमा राखेर पार्टीभित्र ऐतिहासिक सहमति हुनुपर्नेमा उनले जोड दिए।
‘न विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित सभापति गगन थापाको एकल निर्णयले, न चौधौँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको एकल निर्णयले मात्रै कांग्रेसलाई जिताउन सक्छ,’ विश्वकर्माले भने, ‘सबैको साझा सहमति, साझा प्रयास र सहमतिमा चयन गरिएका उम्मेदवारले मात्र राम्रो परिणाम दिन सक्छन्।’
उनले विवाद अदालतमा पुगिसकेको भन्दै अब झगडा त्यहीँ छाडेर जे निर्णय आउँछ, स्वीकार गर्न तयार हुनुपर्ने धारणा पनि सामाजिक सञ्जालमा राखेका छन्।
‘हिजो ज्यानका लागि घर छोड्न तयार भयौँ, आज पार्टीका लागि घमण्ड त्याग्न तयार बनौँ,’ भन्दै उनले देउवा, थापा, पूर्णबहादुर खड्का र शेखर कोइरालालाई एकै ठाउँमा बसेर तत्काल निर्णय गर्न आग्रह गरेका छन्।
उम्मेदवार चयनका क्रममा सहमतिको अभ्यास गर्नुपर्ने उल्लेख गर्दै विश्वकर्माले पहिले समानुपातिकतर्फ देउवाले हस्ताक्षर गरेको र अब बाँकी प्रत्यक्षतर्फका उम्मेदवारको सूचीमा गगन थापाले गर्ने गरी साझा सहमतिमा उम्मेदवार चयन गर्न सुझाव दिए।
यसले कांग्रेस कार्यकर्तामा उत्साह जगाउने र निर्वाचनमा पार्टीको पक्षमा मत माग्ने वातावरण बन्ने उनको विश्वास छ।
अन्त्यमा उनले वीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंहदेखि गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले हाँकेको ऐतिहासिक पार्टी नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर निर्वाचनमा जानुपर्नेमा जोड दिँदै लेखेका छन्, ‘हिजो पनि रूख, आज पनि रूख, भोलि पनि रूख। भोट के मा ? रूखमा ! नेपाली कांग्रेस जिन्दावाद।’
स्मरण रहोस्, गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध कारबाही गर्ने देउवा समूहको निर्णय यिनै विश्वकर्माले नै सुनाएका थिए।