आज जर्मनीको एचआर इन्फो रेडियोले नेपालको माघे सङ्क्रान्तिसँग सम्बन्धित परम्परागत गतिविधि गोरु जुधाइबारे करिब पन्ध्र मिनेट लामो कार्यक्रम प्रसारण गरेको सुन्न पाइयो। उक्त कार्यक्रममा विशेष गरी नुवाकोटको तारुकामा हुने गोरु जुधाइलाई केन्द्रमा राख्दै निकै आलोचनात्मक दृष्टिकोण प्रस्तुत गरिएको थियो, जसमा पशु अधिकारसँग सम्बन्धित संस्थाहरूको धारणा पनि समेटिएको थियो।
पशु कल्याणको विषय आफैंमा संवेदनशील र महत्त्वपूर्ण हो। तर नेपालको सन्दर्भमा गरिने गोरु जुधाइलाई स्थानीय सांस्कृतिक पृष्ठभूमि लाइ बुझ्नु आवश्यक छ।नेपालमा हुने गोरु जुधाइमा हतियारको प्रयोग हुँदैन, गोरुहरूलाई जानाजानी घाइते बनाउने वा मार्ने उद्देश्य हुँदैन, र यो कार्यक्रम वर्षमा एकपटक मात्र, त्यो पनि केही सीमित स्थानमा आयोजना गरिन्छ।
यसलाई स्थानीय समुदायले परम्परा र मनोरञ्जनको रूपमा लिँदै आएका छन्, जहाँ गोरुहरूलाई संरक्षण गर्दै, सम्भव भएसम्म क्षति नहोस् भन्ने कुरालाइ ध्यानमा राखिन्छ।यसलाई अत्यन्त हिंसात्मक अभ्यासको रूपमा चित्रण गर्र्न खोजिनुले सन्दर्भलाइ बिसायन्तर गर्न खोजिएको महसुस हुन्छ।
अर्कोतर्फ, स्पेनमा हुने बुलफाइटिङ जस्तो अभ्यासमा भने गोरुलाई हतियार प्रयोग गरेर सार्वजनिक रूपमा मार्ने प्रक्रिया आज पनि कानुनी रूपमा मान्यता प्राप्त छ। त्यो अभ्यास युरोपियन युनियनभित्रकै देशमा भइरहँदा पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा देखिने प्रतिक्रिया तुलनात्मक रूपमा कम देखिन्छ।
यस पृष्ठभूमिमा हेर्दा, विभिन्न संस्कृतिमा रहेका परम्पराहरूलाई मूल्याङ्कन गर्दा समान मापदण्ड अपनाइनु आवश्यक देखिन्छ। पशु अधिकारको कुरा उठाउँदा, आलोचना र स्थलगत यथार्थता दुवैमा सन्तुलन, सन्दर्भ र सांस्कृतिक संवेदनशीलता कायम राखिनु सबैका लागि हितकर होला कि।