बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनाको अवधिमा करिब ९ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आव २०८२/८३ को साउनदेखि पुससम्ममा पुँजीगत खर्च जम्मा ८ दशमलव ९९ प्रतिशत मात्र गर्न सकेको हो।
प्रदेशले कुल बजेटको करिब १४ दशमलव १० प्रतिशत खर्च गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा २ दशमलव १७ प्रतिशत कम खर्च भएको हो।
आव २०८१-८२ को छ महिनाको अवधिमा प्रदेश सरकारले कूल बजेटको १६ दशमलव २७ प्रतिशत बजेट खर्च गरेको थियो। प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत केशव भण्डारीका अनुसार चालु आव २०८२/८३ को छ महिनाको अवधिमा प्रदेश सरकारले चालुतर्फ २२ दशमलव ४८ प्रतिशत र पुँजीगततर्फ आठ दशमलव ९९ प्रतिशत बजेट खर्च गरेको छ।
चालु आव २०८२/८३ का लागि प्रदेश सरकारले रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकोमा छ महिना सकिँदा रु नौ अर्ब ५८ करोड चार लाख ४५ हजार बजेट खर्च भएको उहाँले बताउनुभयो।
विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोेकसेवा आयोगले ३६ दशमलव ३५ प्रतिशत, मुख्य न्यायाधीवक्ताको कार्यालयले ३० दशमलव ८० प्रतिशत, प्रदेशसभा सचिवालयले २९ दशमलव ३५ प्रतिशत, श्रम रोजगार तथा यातायात मन्त्रालयले २८ दशमलव १० प्रतिशत, स्वास्थ्य मन्त्रालयले २६ दशमलव ४३ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले २५ दशमलव ९१ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले दुई दशमलव ३० प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वय हुन सक्दा प्रदेश सरकारको खर्च कम देखिएको अधिकृत भण्डारीले बताउनुभयो।