सुर्खेत। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले कर्णाली प्रदेश अस्पताल सुर्खेत र अस्पतालभित्र सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) तथा सामाजिक सुरक्षा एकाइ (एसएसयू) को अनुगमन तथा अवलोकन गर्नुभएको छ।
अनुगमनका क्रममा अस्पतालका प्रमुख डा. गणेश थापाले अस्पतालको समग्र सेवा प्रवाहबारे जानकारी गराउनुभएको थियो भने ओसीएमसीका फोकल पर्सन कल्पना थापाले केन्द्रबाट प्रदान हुँदै आएका सेवा, उपलब्ध सुविधा तथा कार्यसम्पादनका क्रममा देखिएका चुनौतीबारे जानकारी गराउनुभएको थियो।
हिंसा तथा दुर्व्यवहारबाट प्रभावित महिला, बालबालिका तथा अन्य व्यक्तिलाई एकै स्थानबाट आवश्यक स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श, कानुनी परामर्श तथा सहयोग उपलब्ध गराउने उद्देश्यले सञ्चालित ओसीएमसीबाट पीडितको स्वास्थ्य परीक्षण तथा उपचार, सुरक्षित आवास र पुनःस्थापनाका लागि समन्वयलगायतका सेवा प्रदान हुँदै आएका छन्।
साथै, केन्द्रले प्रहरी, अस्पताल तथा महिला र बालबालिकासम्बन्धी निकायसँग समन्वय गर्दै आएको छ।
अनुगमनका क्रममा मन्त्री बादीले हिंसापीडित महिलाको तत्काल संरक्षण र सुरक्षित बसोबासका लागि सेफ हाउसको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। हिंसाबाट प्रभावित महिलाले आवश्यकताअनुसार केही दिन सुरक्षित वातावरणमा बस्न सक्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ थियो।
त्यसैगरी, पीडितले जुनसुकै समयमा सहयोग माग्न सक्ने गरी हटलाइन सेवालाई २४ सै घण्टा सक्रिय र प्रभावकारी बनाउन उहाँले निर्देशन दिनुभयो।
मन्त्री बादीले अस्पतालमा आवश्यक चिकित्सक, मेडिकल तथा स्वास्थ्यकर्मी जनशक्ति, उपचार कक्ष र भौतिक पूर्वाधारको अवस्थाबारे समेत जानकारी लिनुभयो।
सेवा प्रवाहमा देखिएका जनशक्ति तथा पूर्वाधारसम्बन्धी अभाव सम्बोधन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले लक्षित वर्गले सहज, सुरक्षित र सम्मानजनक रूपमा सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिनुभयो।