काठमाडौँ। नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सरकारले तीनदिने ‘तिहार विशेष रैथाने मेला’ आयोजना गरेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत काठमाडौँको थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा शुक्रबारदेखि उक्त मेला सुरु भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहजीकरणमा सञ्चालित यस मेलामा स्वदेशी उत्पादनलाई बजारसँग जोड्ने, स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने र परम्परागत खाद्य संस्कृति तथा उत्पादनको संरक्षण गर्ने लक्ष्य राखिएको छ।
मेलामा कृषक, कृषि सहकारी, महिला तथा युवा उद्यमी एवं स्थानीय उत्पादकहरूले आफ्ना रैथाने तथा स्वदेशी उत्पादनहरूको प्रदर्शनी र बिक्रीका लागि स्टलहरू राखेका छन्।
विशेषगरी तिहार पर्वलाई लक्षित गरी आयोजना गरिएको यस मेलामा परम्परागत खाद्य सामग्री, तिहारका परिकार, फूल तथा माला, घर सजावटका सामग्री, परम्परागत पोसाक, हस्तकलाका वस्तु, माटाका भाँडाकुँडा र विभिन्न रैथाने बाली तथा कृषि उपजहरू बिक्रीका लागि राखिएका छन्।
यस किसिमको बजारीकरण र प्रवर्द्धनले कृषक तथा साना उद्यमीहरूको आर्थिक गतिविधि विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।