कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आफ्नो संगठनलाई देशव्यापी रूपमा विस्तार तथा सुदृढ बनाउने अभियानलाई तीव्रता दिएको छ। यसैक्रममा पार्टीले कोशी प्रदेशको संगठनात्मक नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ।

पार्टीले कोशी प्रदेश समितिको प्रदेश संयोजकमा केदार धिमाल र प्रदेश इन्चार्जमा डम्बर लावती (जेन्टल) लाई जिम्मेवारी प्रदान गरेको हो।

नयाँ जिम्मेवारीसँगै कोशी प्रदेशमा पार्टीको संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

उज्यालो नेपाल पार्टीले सुशासन, पारदर्शिता, जवाफदेहिता र समृद्ध नेपालको परिकल्पनासहित वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको छ। परम्परागत राजनीतिक अभ्यासभन्दा माथि उठेर परिणाममुखी राजनीति र जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने अभियानलाई पार्टीले प्राथमिकतामा राखेको छ।

कोशी प्रदेशमा नयाँ नेतृत्वको जिम्मेवारी तोकिनुले पार्टीको संगठन निर्माण अभियानलाई थप गति दिने विश्वास गरिएको छ। नवनियुक्त संयोजक र इन्चार्जले प्रदेशका सबै जिल्ला तथा स्थानीय तहसम्म पार्टीको संगठन विस्तार गर्दै जनताको अपेक्षा र आवाजलाई राजनीतिक एजेन्डाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।