​काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल–३) मा काठमाडौं गोर्खाजबाट खेलिरहेका अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपालीहरूको माया, आत्मीयता र आतिथ्यबाट गहिरो रूपमा प्रभावित भएका छन्। नेपालमा बिताएका अनुभवहरू सामाजिक सञ्जालमार्फत साट्दै उनले नेपालीहरूको खुलेर प्रशंसा गरेका छन्।

​नेपाललाई एक अद्भुत देश भन्दै वार्नरले यहाँका मानिसहरू झनै अद्भुत रहेको बताएका छन्। देशको जुनसुकै कुनामा पुग्दा पनि स्थानीय बासिन्दाबाट पाइएको मुस्कानसहितको स्वागत, उनीहरूको दयालुपन र उदारस्वभावले आफूलाई अत्यन्त विशेष अनुभूति गराएको उनको भनाइ छ। साथै, नेपालमा क्रिकेट खेलप्रति रहेको क्रेज र जनताको उत्साहलाई उनले अविश्वसनीय भनेका छन्।

विश्वचर्चित खेलाडी वार्नरको यो भनाइले नेपालको प्राकृतिक सौन्दर्य मात्र नभई नेपालीहरूको आतिथ्य र संस्कारलाई पनि अन्तर्राष्ट्रिय स्तरमा चिनारी गराएको छ।