काठमाडौँ। नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै बंगालको खाडीमा विकसित भएको चक्रवात “अर्नब” को असर पर्ने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै कात्तिक १२ गते (बिहीबार) देखि कात्तिक १४ गते (शनिबार) सम्म देशभर मौसम प्रतिकूल रहने र वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो भू-भागमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। केही स्थानहरूमा धेरै भारी वर्षा तथा हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
यस मौसमी बदलावका कारण उच्च पहाडी तथा हिमाली भू-भागमा हिम आँधी र हिमपहिरोको जोखिम रहने भएकाले पदयात्रामा जाने पर्यटकहरूलाई उच्च हिमाली क्षेत्रमा नजान र गएको भए सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। साथै, किसानहरूलाई धानबाली भित्र्याउने कार्य बिहीबार अघि नै गरिसक्न महाशाखाले परामर्श दिएको छ। सडक तथा हवाई यातायात, पर्वतारोहण र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सरोकारवाला निकायहरूलाई अनुरोध गरिएको छ।