कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ११३ रनमै समेटियो।

पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। उसका लागि अरिफुल इस्लामले २९ बलमा ४३ रन बनाए भने पवन सर्राफले ३७ बलमा ३७ रनको योगदान दिए। जनकपुरका हरमित सिंहले तीन विकेट लिए भने मोइन अली र राहुल यादवले दुई–दुई विकेट हात पारे।

१३३ रनको लक्ष्य पछ्याएको जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। मोइन अली र हरमित सिंहले समान १९ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्। कर्णालीका युनिस ठकुरी र हुसेन तलतले तीन–तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट लिए।

कसिलो बलिङ र अनुशासित प्रदर्शन गर्दै कर्णालीले जनकपुरलाई १९ रनले हराएको हो। यस जितसँगै कर्णालीले एनपीएलमा विजयी सुरुआत गरेको छ।