काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक (युएनआरसी) मिस लीला पिटर्स याहियाबीच महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा नेपालको जलवायु कार्यसूची, जलवायुजन्य विपद्का विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने तथा संयुक्त राष्ट्रसंघीय निकायहरूसँगको सहकार्य र सहयोग अभिवृद्धि गर्ने विषयमा गहन छलफल भएको छ।
बैठकका क्रममा मन्त्री चौधरीले ‘लिभिङ सगरमाथा : माउन्टेन एजेन्डा’ स्वीकृत भइसकेको जानकारी गराउँदै आगामी अक्टोबर २९, २०२६ मा आयोजना हुने राष्ट्रिय जलवायु शिखर सम्मेलनका अवसरमा उक्त एजेन्डा औपचारिक रूपमा सार्वजनिक गरिने बताउनुभएको छ।
त्यसैगरी, आगामी कोप-३१ मा नेपालले भोगिरहेका जलवायुजन्य विपद्का अनुभव, प्रभाव तथा चुनौतीहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न विशेष प्याभिलियन स्थापना गर्ने तयारी भइरहेको उहाँले उल्लेख गर्नुभयो। उक्त प्याभिलियन सञ्चालनका लागि आवश्यक खर्च व्यवस्थापनमा संयुक्त राष्ट्रसंघीय निकायहरूबाट सहयोगको अपेक्षा गरिएको छ।
भोटेकोशी बाढीलगायतका जलवायुजन्य विपद्का घटनाहरूलाई अन्तर्राष्ट्रियस्तरमा प्राथमिकताका साथ उठाउन सरकारी निकायहरूको सक्रिय प्रतिनिधित्व र सहकार्य आवश्यक रहेकोमा मन्त्री चौधरीले जोड दिनुभयो।
यस सम्बन्धमा मन्त्रालयका सहसचिवले सम्बन्धित टोलीसँग समन्वय गरिसकेको जानकारीसमेत बैठकमा गराइएको थियो। साथै, कोप-३१ मा युवा पुस्ता, विशेषगरी जेन–जी युवाहरू तथा सञ्चारकर्मीहरूको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक सहकार्यका विषयमा समेत संयुक्त राष्ट्रसंघीय निकायहरूसँग छलफल भएको छ।
सरकार, विकास साझेदार, संयुक्त राष्ट्रसंघीय निकाय र नागरिक समाजबीचको सहकार्य सुदृढ गर्दै जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न बैठकले जोड दिएको छ।