बेइजिङ। चिनियाँ कम्युनिस्ट पार्टी (CPC) को २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक सोमबार बिहानदेखि चीनको राजधानी बेइजिङमा सुरु भएको छ।
बैठकमा सीपीसी केन्द्रीय समितिका महासचिव सी चिनपिङले पोलिटब्युरोका तर्फबाट कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। साथै, उहाँले पार्टीभित्र पूर्ण र कठोर स्व-अनुशासनलाई निरन्तरता दिने तथा पार्टी सुदृढीकरणका प्रमुख विषयहरूसम्बन्धी मस्यौदा निर्णयमाथि विस्तृत विवरण राख्नुभएको छ। यस मस्यौदामा नयाँ युगमा पार्टीको कडा अनुशासनबाट हासिल भएका उपलब्धि र अनुभवको समीक्षा गर्दै आगामी दिनका लागि पार्टी निर्माणका रणनीतिहरू समावेश गरिएको छ।
सन् २०१२ मा भएको १८औँ राष्ट्रिय महाधिवेशनयता पार्टीभित्रको कडा अनुशासन र आत्म-सुधारको अभियानले व्यापक सफलता हासिल गरेको र यसले देशको विकासमा ऐतिहासिक परिवर्तन ल्याएको जनाइएको छ। यद्यपि, विश्वव्यापी परिस्थिति र चिनियाँ समाजमा आइरहेका नवीन परिवर्तनहरूसँगै पार्टी सञ्चालनमा नयाँ चुनौतीहरू थपिएकाले अनुशासनलाई अझ कडा बनाइने भएको छ। पार्टीभित्र स्वच्छ राजनीतिक वातावरण कायम राख्न थप उच्च मापदण्ड र व्यवहारिक कदमहरू चाल्नेबारे पूर्ण बैठकमा छलफल भइरहेको छ।