नयाँ दिल्ली। नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजित ‘चिन्मय अमृत’ कार्यक्रमका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवंगत आध्यात्मिक गुरु स्वामी चिन्मयानन्दको एआई निर्मित होलोग्रामसँग मञ्च साझा गरेपछि सामाजिक सञ्जालमा ठूलो चर्चा र बहस सुरु भएको छ।
सन् १९९३ मा निधन भइसकेका आध्यात्मिक गुरु चिन्मयानन्दलाई एआई तथा होलोग्राम प्रविधिको प्रयोग गरी पुनः मञ्चमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रधानमन्त्री मोदी र उक्त एआई निर्मित गुरुबीच भएको संवादको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।
यस कदमलाई लिएर सामाजिक सञ्जालमा तीव्र ध्रुवीकरण र फरक-फरक प्रतिक्रियाहरू देखिएका छन्। आलोचकहरूले राजनीतिक प्रचार र आफैँलाई केन्द्रमा राखेर प्रशंसा गराउनका लागि दिवंगत धार्मिक व्यक्तित्वको एआई रूप प्रयोग गरिनु असोभनीय भएको भन्दै आलोचना गरेका छन्।
अर्कोतर्फ, आयोजक र समर्थकहरूले भने ३३ वर्षपछि आधुनिक प्रविधिको माध्यमबाट गुरुको उपस्थितिलाई महसुस गराउनु एक भावनात्मक र ऐतिहासिक श्रद्धाञ्जली भएको दाबी गरेका छन्।
भारतको राजनीतिमा कृत्रिम बौद्धिकता, डिपफेक र होलोग्रामको प्रयोग गरी दिवंगत तथा जीवित नेताहरूका भाषण अन्य भाषामा अनुवाद गर्ने र मतदातामाझ पुग्ने क्रम पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढिरहेको छ।