काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका चर्चित अलराउन्डर फेबियन एलेनलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ। आक्रामक ब्याटिङ र प्रभावकारी स्पिन बलिङका लागि परिचित एलेनको आगमनले टोलीको शक्तिमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।

​बायाँहाते तल्लो क्रमका विष्फोटक ब्याटर तथा बायाँहाते अर्थोडक्स स्पिन बलरका रूपमा स्थापित एलेनसँग अन्तर्राष्ट्रिय तथा विभिन्न देशका फ्रेन्चाइज लिगहरूको बाक्लो अनुभव रहेको छ। उनले वेस्ट इन्डिजका लागि ४२ वटा अन्तर्राष्ट्रिय टी-२० म्याच खेल्दै २९८ रन बनाउनुका साथै २४ विकेट लिएका छन्। त्यसैगरी, समग्र घरेलु तथा फ्रेन्चाइज टी-२० क्रिकेटका १७८ म्याचमा १३९.८९ को उत्कृष्ट स्ट्राइक रेटमा १,६३४ रन जोड्दै १०९ विकेट हासिल गरेको तथ्याङ्क छ।

​सुदूरपश्चिम रोयल्सका मुख्य कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले एलेनको अनुबन्धबारे पुष्टि गर्दै उनको उत्कृष्ट बलिङ र तल्लो क्रममा आक्रामक ब्याटिङ गर्नसक्ने क्षमताले एनपीएलमा टोलीको दाबेदारीलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। विश्वभरका विभिन्न चर्चित टी-२० लिगहरू खेलिसकेका एलेनको उपस्थिति सुदूरपश्चिम रोयल्सका लागि महत्त्वपूर्ण सावित हुने देखिन्छ।