​काठमाडौँ। नेपाल प्रिमियर लिग अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न २१औँ खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्समाथि २७ रनको रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रनको सामान्य योगफल तयार पारेको थियो।

​सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलनले २३ बलमा ३३ रन तथा थरिन्डु रथनायकेले २८ बलमा अविजित २७ रन जोडेर टोलीलाई सम्मानजनक स्थितिमा पुर्‍याएका थिए। जनकपुरका तर्फबाट कप्तान हरमीत सिहंले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए।

​तर, १२१ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स सुदूरपश्चिमको अनुशासित बलिङ सामु टिक्न सकेन र १९.५ ओभरमा ९३ रनमै अलआउट हुन पुग्यो। सुदूरपश्चिमका बलर स्कट कुगेलेइनले १३ रन खर्चेर ३ विकेट लिँदै टोलीको जित सुनिश्चित गरे। जनकपुरका लागि त्रिप्त राज दास (२१ रन) र जेम्स निसम (२० रन) बाहेक अन्य ब्याटरहरूले सम्झनयोग्य प्रदर्शन गर्न सकेनन्। यस जितसँगै ६ खेलबाट ८ अङ्क जोड्दै सुदूरपश्चिम रोयल्स अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।