काठमाडौँ। नेपाल प्रिमियर लिगको आगामी तेस्रो संस्करणका लागि फ्र्यान्चाइज टोली कर्णाली याक्सले पाकिस्तानका टी-२० अन्तर्राष्ट्रिय कप्तान साहिबजादा फरहानलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ।

विस्फोटक दायाँहाते ओपनिङ ब्याटरका रूपमा परिचित फरहानको आगमनलाई कर्णाली याक्सको एक ठूलो अन्तर्राष्ट्रिय उपलब्धिका रूपमा हेरिएको छ।

​साहिबजादा फरहान हालै सम्पन्न सन् २०२६ को टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताकै सर्वाधिक रनकर्ता बनेका थिए। सो विश्वकपमा दुई वटा शानदार शतकसहित कुल ३८३ रन जोडेका उनी अब कर्णाली याक्सको ओपनिङ ब्याटिङ सम्हाल्न नेपाल आउन लागेका हुन्।

उनको उत्कृष्ट शीर्ष क्रमको ब्याटिङ तथा उच्च नेतृत्व क्षमताले टोलीको प्रदर्शनलाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ। एनपीएलको तेस्रो संस्करण अक्टोबर २६, २०२६ देखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदै छ।