अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी बोलपत्र मूल्यांकनमा अनियमितता भएको भन्दै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना तथा दुई विदेशी कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार राहदानी छपाइ कार्यमा प्रचलित कानुनविपरीत बोलपत्रहरूको प्राविधिक मूल्यांकन र वित्तीय मूल्यांकन गरी गलत सिफारिस तथा गलत निर्णयका आधारमा सम्झौता गरिएको आरोप छ। सोही सम्झौताका आधारमा आर्थिक रकम भुक्तानी लिई–दिई गैरकानुनी लाभ तथा हानी पुर्याइएको अख्तियारको दाबी छ।
प्रतिवादीहरूमा राहदानी विभागका महानिर्देशक अर्यालसहित १६ जना, Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी रहेका छन्।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ १ पैसा बिगो कायम गरी कैद, जरिवाना तथा भुक्तानी भएको रकम असुलउपर गर्न मागदाबी गरेको छ। साथै, प्रतिवादी तीर्थराज अर्याललाई थप सजायको समेत माग गरिएको आयोगले जनाएको छ।
