भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन संवाद गरेका छन्।
मोदीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुवै नेतासँग न्यानो टेलिफोन संवाद भएको बताएका हुन्। उनले नेपालमा हालै सम्पन्न निर्वाचनमा रवि लामिछाने र बालेन्द्र शाहको जित तथा राष्ट्रिय स्वतन्त्र पार्टीको उल्लेखनीय सफलताप्रति बधाई दिएका छन्।
संवादका क्रममा मोदीले नयाँ सरकार गठनको तयारीका लागि शुभकामना व्यक्त गर्दै भारत सरकार नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका जनताको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन्।
उनले भारत–नेपाल सम्बन्ध आगामी वर्षहरूमा संयुक्त प्रयासबाट अझ नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।
मोदीले सामाजिक सञ्जालमा लेखेका छन्-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति श्री रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता श्री बालेन्द्र शाहसँग टेलिफोनमा सौहार्दपूर्ण कुराकानी भयो। वहाँहरुको निर्वाचनमा प्राप्त जित र नेपालको निर्वाचनमा रास्वपाको शानदार सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएँ। वहाँहरूको आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हामी दुई देशबीचको आपसी समृद्धि, प्रगति र हितका लागि वहाँहरूसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता समेत व्यक्त गरेँ। हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।