सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधारलाई तीव्रता दिएको छ।
यसैक्रममा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा नसर्ने रोगको वर्तमान अवस्थाबारे छलफल भएको थियो।
बैठकले स्वास्थ्य प्रवद्र्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथाममा पहल गर्ने निष्कर्ष निकालेको छ। साथै, बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रालयसँग अन्तरक्रिया गर्ने र चाँडै नियमित समीक्षा बैठक सञ्चालन गर्ने निर्णय गरेको छ।
बैठकमा स्वस्थ जीवनशैलीसम्बन्धी जनचेतना प्रभावकारी रूपमा फैलाउने, नसर्ने रोग नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गर्ने, विद्यालय तहदेखि नै सार्वजनिक स्वास्थ्य शिक्षा लागू गर्ने तथा विशेषज्ञ चिकित्सकलाई देशमै टिकाउने विषयमा छलफल भएको थियो।
त्यस्तै, सुर्तीजन्य पदार्थ, इनर्जी ड्रिंक, जंक फुड, विषादीयुक्त खानेकुरा र अस्वस्थ जीवनशैलीलाई नसर्ने रोगका प्रमुख कारकका रूपमा औँल्याउँदै तिनको नियन्त्रण तथा नियमनमा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइएको छ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा क्यान्सरलगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारभन्दा रोकथाम, जनचेतना, नियमित परीक्षण र जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गर्ने नीति लिएको छ। सन् २०३० सम्ममा नसर्ने रोगबाट हुने अकाल मृत्यु एक तिहाइले घटाउने दिगो विकास लक्ष्यप्रति पनि नेपाल प्रतिबद्ध छ।