काठमाडौं । विनाशकारी बाढीपछि नेपाली सेनाले उद्धार अभियानलाई तीव्रता दिँदै पहिलो ९६ घण्टामै ३ हजारभन्दा बढीको हवाई उद्धार गरेको दाबी गरेको छ। नेपाली सेनाका अनुसार बाढी प्रभावित क्षेत्रमा २१ वटा हेलिकप्टर परिचालन गरी पहिलो ९६ घण्टाभित्रै ३ हजार २४३ जनाको उद्धार गरिएको थियो। कुल ४ हजार २२० जनाको हवाई उद्धार गरिएकामा करिब ७५ प्रतिशतलाई सुरुवाती चार दिनमै सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ।
सेनाका प्रमुख सिग्देलले उद्धार अभियानलाई तत्कालीन खोज तथा उद्धार, मध्यकालीन खोज तथा शव व्यवस्थापन र दीर्घकालीन पुनःस्थापना तथा पुनर्निर्माण गरी तीन चरणमा अघि बढाइएको जानकारी दिएका छन्। बाढीको सूचना प्राप्त हुनासाथ स्थानीय सुरक्षा निकायलाई सतर्क गराउनुका साथै हवाई उद्धार टोली परिचालन गरिएको उनको भनाइ छ।
उद्धारका क्रममा हेलिकप्टरबाट हवाई गस्ती, ड्रोन, थर्मल इमेजिङ क्यामेरा र स्थलगत खोजीलाई एकसाथ परिचालन गरिएको थियो। प्रभावित क्षेत्रलाई विभिन्न भागमा विभाजन गरी मानिस जीवित रहन सक्ने सम्भावित स्थान पहिचान गरेर खोजी गरिएको सेनाले जनाएको छ। टिमुरे, घट्टेखोला, स्याफ्रुबेँसी, हाकु, बेत्रावती र देवीघाटलगायत क्षेत्रमा पटक–पटक निरीक्षण तथा घरघरमा खोजी गरिएको थियो। सामाजिक सञ्जाल, सञ्चारमाध्यम र स्थानीयबाट प्राप्त सूचनालाई समेत प्रमाणीकरण गरी उद्धारमा प्रयोग गरिएको बताइएको छ।
यस अभियानको उल्लेखनीय घटनामध्ये बाढी आएको ११औँ दिनमा बेत्रावती क्षेत्रबाट एक महिलालाई जीवितै उद्धार गर्नु पनि रहेको छ। सशस्त्र प्रहरी बल नेपालको सहयोगमा गरिएको उक्त उद्धारलाई सेनाले कठिन परिस्थितिमा पनि खोजी अभियान जारी राख्दाको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।