पुरस्कार र सम्मान प्रोत्साहन र प्रेरणाको विषय हो । यस प्रसङ्गमा संसारले सहसा सम्झने भनेको नोबेल पुरस्कार हो, जुन एउटा अद्वितीय त्यागको उदाहरण पनि हो ।

अल्फ्रेड नोबेल (१८३३–१८९६) ले डाइनामाइट र जेलटिनजस्ता विस्फोटक वस्तुको पेटेन्टबाट कमाएको विशाल धनराशिको ९४ प्रतिशत रकम यस पुरस्कारका लागि अक्षय कोषका रूपमा सन् १८९५ मा दान गरेका थिए, मानव जातिको कल्याण हुने काम गर्नेहरूलाई दिने उद्देश्यले । हालसम्म भौतिकशास्त्र, रसायनशास्त्र, औषधिविज्ञान, साहित्य, शान्ति र अर्थशास्त्रमा धेरैले त्यो पुरस्कार पाएका छन् ।

मानव जातिको ज्यादै ठूलो कल्याण हुने काम गरेर भौतिकशास्त्रमा प्रथम नोबेल पुरस्कार (१९०१) पाउने जर्मन वैज्ञानिक विल्हेल्म कोनराड रोन्टजेन (१८४५–१९२३) थिए, जसले एक्स–रे पत्ता लगाए र संसारलाई यो प्रविधि उदारतापूर्वक निःशुल्क (व्यक्तिगत पेटेन्ट लाभ नलिएर) प्रयोग गर्न दिए । त्यसबाट आज अरबौँ मानिसको उपचार हुन सकेको छ । ज्ञान, त्याग र मानव कल्याणको त्यो अर्को बिरल उदाहरण हो । मरिया सालोमिया स्क्लोदोउस्का ‘म्याडम क्युरी’ (१८६७–१९३४) को नाम उस्तै आदरणीय छ, जसले पत्ता लगाएको रेडियम भन्ने वस्तुको किरणले विश्वका करोडौँ क्यान्सर रोगीको जीवन जोगाएको छ ।

पुरस्कारको मूल उद्देश्य राम्रो काम गर्नेहरूलाई सम्मान गर्ने र भावी पुस्तालाई पनि त्यस्तै राम्रो काम गर्न प्रेरणा दिने हो । सबैभन्दा ‘राम्रो काम’ भनेको मानव जातिको कल्याण नै हो । त्यसकारण सकेसम्म समस्त मानव जातिको मात्र होइन, प्राणी जगतको र त्यसो गर्न नसके पनि आफ्नो देशको हित हुने ज्ञान बढाउनु ‘राम्रो काम’ हो ।

अल्फ्रेड नोबेल आफैँ वैज्ञानिक भए पनि उनले विज्ञानबाहेक साहित्यका लागि पनि पुरस्कार राखे । त्यसको मतलब हो, साहित्य पनि मानव कल्याणकारी हुनुपर्छ । चार्ल्स डिकेन्स (१८१२–१८७०) का उपन्यासहरूले बेलायतमा बालश्रम निषेध गर्ने ऐन कानुन बनाउन पार्लियामेन्टलाई प्रेरणा दिए । साहित्यले त्यसरी मानव समाजलाई सुसंस्कारतिर अघि बढाउने काम गर्नुपर्छ । हाल साहित्यको नाममा नेपालमा सुनिने गालीगलौज, आक्रोश या निराशाका उच्छ्वासलाई त्यति उत्कृष्ट साहित्य भन्न सकिन्न ।

साहित्यकार यति संवेदनशील मानिस हुन्छ कि ऊ मानवलाई अति नै माया गर्छ । समाजमा भएका युद्ध र हिंसाका घटना देखेर ऊ बडो दुःखित हुन्छ । समाजमा देखिने विडम्बना देखेर देवकोटा (१९०९–१९५९) ‘पागल’ नै भए । नोबेल पुरस्कार विजेता अर्नेस्ट हेमिङ्वे (१८९९–१९६१) र यासुनारी कावाबाता (१८९९–१९७२) ले आत्महत्या नै गरे । अरू पनि त्यस्ता उदाहरण छन् । चरम संवेदनशीलताका घटना हुन् ती ।

एसियामा निकै महत्त्वपूर्ण मानिने पुरस्कार म्यागसेसे हो । वि. सं. २०१२ सालमा स्थापित भएर २०१३ सालदेखि प्रदान गर्न थालिएको मदन पुरस्कारले आजसम्म निरन्तरता पाएको छ र पुरस्कारको राशि पनि समयअनुसार बढ्दै गएको देखिन्छ । नेपालमा धेरै क्षेत्रमा देखिने अनिरन्तरताका कारण यसरी पुरस्कार दिने परम्पराले चिरकालपर्यन्त एउटा संस्थागत रूप लेओस् भन्ने चाहना हामीमा हुनु स्वाभाविक छ । संस्था चिरस्थायी हुन्छ । यस प्रसङ्गमा मलाई स्व. यदुनाथ खनालले भन्नुभएको कुरा मैले बराबर सम्झने गरेको छु । उहाँ भन्नुहुन्थ्यो—‘संस्था बनाउने मानिस ठूलो हो ।’

केही वर्षअघि स्व. प्रा. डा. सुरेशराज शर्मालाई यो सम्मान प्रदान गरिएको कार्यक्रममा मलाई केही बोल्न भन्नुभएको थियो । मैले त्यतिखेर भनेको थिएँ- यस वर्ष त सुरेशराज शर्मालाई पुरस्कार दिन पाउनुभयो तर भविष्यमा सधैँ यसै तहका मानिस कहाँ पाइरहनुहोला ? त्यसपछि केदारभक्त माथेमालाई यो पुरस्कार दिएको थाहा पाएँ । विश्वविद्यालयजस्ता शिक्षण संस्था बनाउने काममा उहाँहरूको, विशेष गरी सुरेशराज शर्माको योगदान ऐतिहासिक रूपमा चिरकालपर्यन्त स्मरणीय रहनेछ । यस्ता संस्था बनाउनेहरूलाई हामीले सम्मान गर्दा उहाँहरूको कामले नयाँ पुस्तालाई प्रेरणा पनि दिइरहनुपर्छ ।

ढुंगामुढा गरेर या हिंसात्मक घटना घटाएर गरिने कामले आकस्मिक रूपमा राजनीतिक परिवर्तन ल्याउन सक्ला । त्यो परिवर्तन कति चिरस्थायी र मानवकल्याणकारी हुन्छ भन्ने कुरा भने सधैँ स्पष्ट र निश्चित हुँदैन । तर विश्वविद्यालयजस्तो चिरस्थायी संस्था, जसलाई ज्ञानको मन्दिर भन्न सकिन्छ, स्थापना गर्नु साँच्चै नै मानव समाजको कल्याणका लागि गरिने अति महनीय कार्य हो । आज मानव जाति ज्ञानविज्ञानको क्षेत्रमा जति अगाडि बढेको छ, त्यसको श्रेय विभिन्न देशका विश्वविद्यालयहरूलाई नै जान्छ ।

मैले जीवा लामिछाने (पद्मश्री पुरस्कारका संस्थापक) को चितवनदेखि सुरु भएको शैक्षिक यात्राको कथा पढेको छु । आज उहाँले लगनशीलताका साथ काम गरेर जुन आर्थिक समृद्धि हासिल गर्नुभएको छ र हरेक वर्ष पुरस्कार र सम्मान प्रदान गर्ने काम गरिरहनुभएको छ, त्यस कामका पछाडि उहाँमा रहेको उदात्त भावना र प्रेरणा पनि मैले महसुस गरेको छु । ईश्वरको वरदान पाएकाहरूले नै यस्तो समृद्धि हासिल गर्छन् र उनीहरूबाट यस्ता काम हुन्छन् भन्ने मेरो विचार छ । साथै, यो पुरस्कार दिने परम्परालाई उहाँका छोरा–नातिहरूले पनि निरन्तरता दिइरहून् भन्ने चाहन्छु । यो किन भनिरहनुपरेको छ भने नेपालमा खुलेका संस्था, थोरै समय चलेका पत्रपत्रिका वा केही महनीय क्रियाकलापका विषयमा चिन्ता लिनुपर्ने विषय तिनको निरन्तरता हो ।

जब जीवा लामिछानेजीले मलाई फोन गरेर २०८२ को पद्मश्री गौरव पुरस्कार दिने निर्णय भएको कुरा बताउनुभयो, म असमञ्जसमा परेँ । अस्वीकार गरौँ भने पुरस्कार दिनेलाई अपमान गरेको जस्तो हुने । स्वीकार गरौँ भने मैले के त्यस्तो पुरस्करणीय काम गरेको छु र भन्ने प्रश्नले आफैँलाई चिमोटिरहने भयो । यस्तै अवस्थामा मैले विनम्रतासाथ स्वीकार गरेँ र यही अवसर पारेर आफ्ना मनका केही कुरा भन्ने मौका छोपेँ ।

म यत्ति भनेर आफ्नो भनाइ टुङ्ग्याउन चाहन्थेँ तर मेरो भनाइ अलिक छोटो लागेर हो कि किन हो, रविन बाबुले मलाई मेसेज लेख्नुभयो र मेरो ‘वैचारिकी वा भावी पुस्तालाई मार्गदर्शन’ बारे केही थप कुरा लेख्न भन्नुभयो ।

वास्तवमा म छोटो बोल्न चाहनुका दुईवटा कारण थिए । पहिलो, मैले पुरस्कार स्वीकार गरेकामा मेरो मनमा रहेको गम्भीर संकोच । दोस्रो, श्रोतागणको ध्यान वा सुन्ने अभिरुचिमा न्यूनता ।

अब मेरो वैचारिकी भनेको के हो भनी सोध्नुहुन्छ भने हाम्रो व्यक्तिगत या राष्ट्रिय जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरो शिक्षा हो भन्ने मलाई लाग्छ । शिक्षाले नै सारा विज्ञान र प्रविधिको विकास ‘किन’ र ‘कसरी’ भन्ने दुई प्रश्नबाट सुरु हुन्छ भन्ने कुरा सिकाउँछ । अहिले हामीले हाम्रो देश नेपालका बारेमा सोच्दा यसको ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक पक्षबारे प्रश्न गर्ने हो । हाम्रो शिक्षाले त्यस्तो प्रश्न गर्ने क्षमता भएको राष्ट्रिय नागरिक उत्पादन गरेको छ कि छैन ?

ऐतिहासिक दृष्टिले हेर्दा, भारतमा फैलँदो प्रबल ब्रिटिस उपनिवेशको प्रतिरोध गर्दै पहाडका बाइसी–चौबिसी राज्यहरूको एकीकरण गरेर वर्तमान नेपालको यो स्वरूप खडा गर्ने हाम्रा पुर्खाहरूमा ठूलो आत्मविश्वास देखियो । अनि उनीहरूमा आफ्नै सीमित साधनस्रोत परिचालन गरेर ‘असीमित’ जस्तो लाग्ने उपलब्धि हासिल गर्ने क्षमता पनि देखियो ।

राष्ट्रिय एकीकरण अभियानमा उनीहरूले उत्तर र दक्षिण दुवैतिर युद्ध लडेका थिए । स्वभावतः कतिपय युद्धमा विजय हासिल भयो भने कतिपयमा पराजय । तर उनीहरूको ‘सैन्यबल’ भन्दा पनि ‘मनोबल’ प्रशंसनीय थियो । तर त्यो आत्मविश्वास र मनोबल हामीमा किन छैन ? आज नेपाल किन अति अल्पविकसित देशको सूचीमा छ ? हामी वैदेशिक सहायताका लागि दाताहरूको ढोकाढोकामा चहारिरहनुपर्ने स्थिति कसरी आयो ? हाम्रो राष्ट्रिय विकासक्रमको कडी कहाँनिर चुडियो ?

सन् १८५० मा जङ्गबहादुरले बेलायत यात्रा गर्ने निर्णय गर्नमा पनि उनको व्यक्तिगत मात्र होइन, राष्ट्रकै आत्मविश्वास र स्पष्ट उद्देश्य देखिन्थ्यो, जुन भारतका अन्य राजा–रजौटामा देखिँदैनथ्यो । तर क्रमशः आफ्नै जनताप्रति कठोर र उनीहरूलाई बाहिरी विश्वबाट अलग राख्ने राणा शासनको नीतिका कारण नेपाल आर्थिक दृष्टिले गरिब मात्र होइन, मनोबलमा पनि कमजोर हुँदै गयो ।

राणा शासनको १०४ वर्ष नेपालको राजनीतिक, आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा कुण्ठाको अवधि हुन गयो । अनि वि.सं. २००७ सालमा राणा शासन ढल्यो धेरै कारणले, जसमा मुख्यतः दोस्रो विश्वयुद्धपछि बनेको नयाँ परिस्थिति, भारतको स्वतन्त्रता, चीनमा कम्युनिस्ट क्रान्ति र नेपाली जनताको स्वतन्त्रताको उत्कट चाहना थिए ।

राजनीतिक दृष्टिले हेर्दा, २००७ सालको क्रान्तिपछि यता कुनै पनि सरकार या प्रधानमन्त्री पाँच वर्ष टिकेको देखिन्न । ‘पञ्चायती व्यवस्था’ भनिने राजाको प्रत्यक्ष शासनकाल (२०१७–२०४६) मा पनि कुनै प्रधानमन्त्रीले या क्याबिनेटले लगातार पाँच वर्ष प्रशासन चलाएन । २०४८ सालदेखि यताका पैंतीस वर्षमा त झन् ३१ वटा सरकार बने । नेपालमा यो राजनीतिक अस्थिरतारूपी दीर्घरोगको कारक के हो ? के हाम्रो राजनीतिक नेतृत्वको चरम अनैतिकता र अवसरवादिताले यस्तो भएको हो ? हो भने, यसको उपचार के हो ? के हाम्रो देशको शिक्षा प्रणालीबाट उत्पादित शिक्षित वर्गले यो प्रश्न गरेको छ र यसको समाधानको बाटो खोजेको छ ?

आर्थिक विकासको दृष्टिले हेर्दा, राणा शासनकालको १०४ वर्षमा देश कुण्ठित भयो भन्ने भनाइमा आंशिक सत्यता छ । तर अब राणा शासन गएको पनि ७५ वर्ष भयो, तैपनि चाहेजस्तो विकास किन भएन ? विकासको दृष्टिले कोरिया, ताइवान, हङकङ र सिङ्गापुरलाई एसियाका चार बाघ भनिन्छ । तर जुन समयावधिमा तिनीहरू विकसित भए, नेपालचाहिँ किन भएन ? के नेपाल कठिन भौगोलिक स्थितिमा रहेको भूपरिवेष्टित मुलुक भएकाले मात्र अविकसित रहिरहेको हो ? नेपालभन्दा तीन गुणा सानो स्विट्जरल्यान्ड भूपरिवेष्टित पहाडी मुलुक भएर पनि किन र कसरी त्यति धेरै विकसित भयो ? नेपालको नयाँ पुस्ताले यी प्रश्न आफैँलाई सोधेर आफ्नो देशको भूगोलअनुसारको विकास रणनीति अपनाउन सक्नुपर्छ । अनि अनुशासन र कठोर परिश्रम विकासका दुई खुट्टा हुन् भन्ने बुझ्नुपर्छ ।

ढुंगामुढा गर्ने, टायर बाल्ने र सडकमा इँटा बर्साउने संस्कृतिमा हुर्केको विद्यार्थीले कुन ज्ञान वा विज्ञान सिकेको हुन्छ ? यस कुराको बोध आजका हाम्रा नेता र युवा वर्गलाई हाम्रो शिक्षाले दिएको छ कि छैन ?

शैक्षिक, सांस्कृतिक र कलात्मक विकासको दृष्टिले हेर्दा, संस्थागत रूपमा नेपालको आधुनिक शिक्षाको सुरुवात जङ्गबहादुरको बेलायत भ्रमणपछि भयो । पहिलो स्कुल दरबार स्कुल, पहिलो कलेज त्रिचन्द्र कलेज, पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय । ती संस्थामा पढाइने विषय, पाठ्यक्रम, परीक्षा र परीक्षाफलको प्रणाली सबै नै हामीले बाहिरबाट, खासगरी बेलायतबाट भारत हुँदै आएको प्रणालीबाट सिकेका हौँ ।

चीन, जापान र कोरियामा पनि त्यस्तै आयातीत सिकाइ छ कि आफ्नै अनुभव र दर्शनले खारिएका शैक्षिक प्रणाली छन् ? भनिन्छ, जापानमा तीन–चार कक्षासम्म कुनै पास–फेल हुने जाँच लिइन्न, चरित्र निर्माणमा मात्रै जोड दिइन्छ । बच्चाहरूले नै आफ्नो कक्षाकोठा आफैँ सफा गर्छन् । फिनल्यान्डमा केटाकेटी १८ वर्षको अर्थात् हाइस्कुल (कक्षा १२) पास हुने समयसम्म कुनै राष्ट्रिय स्तरको जाँच लिइन्न । तर कलेज जाने प्रवेश परीक्षामा तिनीहरूकै अङ्क विश्वस्तरमा सबैभन्दा माथि पाइने गरेको छ । हामीले भने आफ्नो समाजको अनुभव र आवश्यकताअनुसारको शिक्षा प्रणाली विकास गरेका छैनौँ । हाम्रो शैक्षिक क्षेत्र ध्वस्तजस्तै छ । यसबारे नयाँ पुस्ताले मौलिक रूपमा सोच्नुपर्छ ।

संस्कृति र कलाको विकासको दृष्टिले हेर्दा, लिच्छवि र मल्लकालका मूर्ति र खासगरी मन्दिरहरूमा देखिने स्थापत्य कलाको क्रमिक विकास गर्ने काममा निरन्तरता देखिएन । बुढानीलकण्ठ, कालभैरवजस्ता मूर्ति र चाँगुनारायण, न्यातपोल, दत्तात्रय वा तलेजुका मन्दिरहरूको स्थापत्य कलाको निरन्तरताबाट सिकेर नयाँ तर मौलिक विकास गरिएन । लैनसिंह बाङ्देलबाट पश्चिमी आधुनिक अमूर्त चित्रकला नेपालमा भित्रियो भने हुन्छ होला । उनको प्रेरणा पिकासोजस्ता युरोपेली कलाकारहरू भए, न कि नेपाली परम्परागत कला । ठाकुरप्रसाद मैनालीका मूर्तिकलामा अमूर्तताको प्रवेश भए पनि नेपालीपनको राम्रो फ्युजन भएको दाबी गरिन्छ ।

साहित्यतर्फ दृष्टि दिँदा, नेपालमा अहिले धेरै लेखकहरू जन्मिएका छन् । पुस्तक प्रकाशनको बाढी नै आएको छ । तर विश्वस्तरमा जाने कृति अझै आइसकेका छैनन् केहीबाहेक । विश्वस्तरमा पुग्न अङ्ग्रेजी वा कुनै युरोपेली भाषामा नै लेख्नुपर्छ भन्ने छैन । कोरियाली लेखिका हान काङका कृतिहरू सबै कोरियाली भाषामा लेखिएका हुन् तर उनले साहित्यमा सन् २०२४ को नोबेल पुरस्कार पाइन् ।

सबै क्षेत्रमा मौलिकता ठूलो कुरा हो । नयाँ पुस्ताले सोच्ने कुरा पनि यस्तै हो जस्तो लाग्छ ।

मलाई पुरस्कार दिने निर्णय गर्ने छनोट समिति तथा मेरो कुरा सुनिदिनुहुने यहाँहरू सबैलाई धन्यवाद ।

(खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा सोमबार काठमाडौँमा आयोजित पद्मश्री सम्मान तथा पुरस्कार वितरण समारोहमा  प्राडा जयराज आचार्यले दिएको अभिव्यक्ति । कार्यक्रममा प्राडा आचार्यलाई पद्मश्री गौरव पुरस्कार, कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान र श्रवण मुकारुङलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको थियो।)