कुलेखानी जलाशयको पानीको सतह हाल सुरक्षित तहमै रहेको छ र जलाशय क्षेत्रमा न्यून वर्षा भइरहेको छ। हाल बाँधका ढोका खोल्नुपर्ने अवस्था छैन।
बाँधका ढोका खोल्नुपर्ने अवस्था सिर्जना भएमा त्यसअघि नै तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित सरोकारवालालाई जानकारी गराउन तीन चरणको चेतावनी प्रणाली व्यवस्था गरिएको छ। प्रत्येक चरणमा साइरन बजाई तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना दिइनेछ। साथै, तीनै चरणमा SMS मार्फत समेत तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित सरोकारवालालाई आवश्यक जानकारी प्रदान गरिनेछ।
यसैबीच, विदेशका दृश्य तथा पुराना भिडियोहरूलाई कुलेखानीको वर्तमान अवस्थासँग जोडेर सामाजिक सञ्जालमा “कुलेखानी बाँध फुट्यो” भन्दै फैलाइएका अपुष्ट खबर तथा भ्रामक भिडियोप्रति सचेत रहनुहुन समेत अनुरोध गर्दछौं।
आधिकारिक स्रोतबाट तथ्य पुष्टि नगरी यस्ता सामग्रीमा विश्वास नगर्न तथा शेयर नगर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ।
आधिकारिक सूचनामा ध्यान दिनुहोस् र सम्बन्धित निकायबाट जारी सुरक्षा निर्देशनको पालना गर्नसमेत अनुरोध गर्दछौं।