पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई न्याय दिन माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अर्यालले कानुनी राज्य सञ्चालनका लागि सर्वप्रथम सरकार सञ्चालन गर्ने व्यक्तिहरू स्वयंले कानुनको मर्म बुझ्नुपर्ने र नागरिकसँग सहकार्य गर्नुपर्ने बताएका छन्। उनले राज्य र नागरिकबीच सहकार्यको सट्टा प्रतिद्वन्द्विता बढाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै यसले मुलुकलाई पुनः द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउन सक्ने चेतावनी दिएका छन्।

“कानुनी राज्यमा नागरिकले मात्र होइन, सरकारले पनि विधि र विधानको सही रूपमा पालना गर्नुपर्छ,” अर्यालले लेखेका छन्। सबै विचारधारा, वर्ग र समुदायका नागरिकसँग सहकार्य गर्दै सत्य, निष्ठा र मानवताका आधारमा राज्य सञ्चालन हुनुपर्ने उनको भनाइ छ।

सुशासनको मेरुदण्ड कानुनी शासन भएको उल्लेख गर्दै अर्यालले आम नागरिकले निरन्तर सास्ती भोग्नुपर्ने तर सरकारसँग सम्बन्धित व्यक्तिहरूले उन्मुक्ति पाइरहने अवस्था कानुनी राज्यमा स्वीकार्य नहुने बताएका छन्। वर्तमान परिस्थितिका लक्षणहरू सकारात्मक नदेखिएको भन्दै उनले सरकारलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गरेका छन्।

अर्यालले स्वर्गीय गणेश नेपाली र उनका परिवारजनले न्याय पाउनुपर्ने माग गर्दै नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।