सूचना प्रविधिविद् इञ्जिनियर डा. शालिग्राम पराजुलीले नेपालको द्रुत आर्थिक विकासका लागि सूचना तथा सञ्चार प्रविधि (ICT) नै एकमात्र प्रभावकारी माध्यम भएको बताउनुभएको छ। उहाँका अनुसार, हालको युवा पुस्ताको तत्काल रोजगारी, सुशासन र समृद्धिको चाहनालाई सम्बोधन गर्न ‘एआई ड्रिभेन इकोसिस्टम’ (कृत्रिम बौद्धिकताद्वारा सञ्चालित व्यवस्था) को रणनीतिक प्रयोग अपरिहार्य छ। परम्परागत उद्योगभन्दा पनि ‘आईटी इनेबल्ड सर्भिस’मार्फत ‘आउटसोर्सिङ इकोनोमी’ (विदेशको काम आफ्नै देशमा बसेर गर्ने व्यवस्था) अपनाएर रातारात लाखौँ रोजगारी सिर्जना गर्न सकिने स्पष्ट सम्भावना उहाँले औँल्याउनुभयो। डा. पराजुलीले ‘नलेज प्रोसेस आउटसोर्सिङ’ (उच्च बौद्धिक कार्यहरू स्वदेशबाटै गर्ने)मार्फत सरकारले ग्लोबल आईटी कम्पनीहरूसँग रणनीतिक साझेदारी र आउटसोर्सिङ सम्झौता गरेमा, नेपाली युवाहरूले नेपालमै बसेर ‘रिमोट वर्क मोडेल’मा विश्वस्तरको काम गर्न पाउने वातावरण बन्ने उहाँको तर्क छ। यसबाट युवाहरूले उच्च आयका डिजिटल रोजगारीबाट घरमै बसी लाखौँ आम्दानी गर्न सक्नेछन्।

डा. पराजुलीले युवापुस्ताको अर्को मुख्य माग सुशासन भएको उल्लेख गर्दै सरकारी सेवा प्रवाहलाई पूर्ण रूपमा ‘स्वचालन’ (अटोमेसन—मान्छेको हस्तक्षेप बिना कामकाजहरू मेसिन वा सफ्टवेयरबाट हुने)मा लैजानुपर्नेमा जोड दिनुभएको छ। सरकारी सेवामा भौतिक उपस्थिति हटाएर ‘फेसलेस’ र ‘पेपरलेस’ प्रणाली लागू नगरेसम्म जनताले चाहेको ‘सिटिजन सेन्ट्रिक’ (नागरिककेन्द्रित) सेवा प्रवाह सुनिश्चित हुन नसक्ने उहाँको तर्क छ। सरकारले अघि सारेको सय दिने सुधार कार्ययोजना अन्तर्गत सेवा प्रवाहमा कृत्रिम बौद्धिकताको एकीकरण, क्षमता अभिवृद्धि र उच्च प्रविधियुक्त पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने उहाँको सुझाव छ।

डिजिटल रूपान्तरणको लक्ष्य हासिल गर्न देखिएका संरचनागत र नीतिगत चुनौतीहरूबारे टिप्पणी गर्दै डा. पराजुलीले सूचना प्रविधि क्षेत्रका संरचनाहरूमा हुने छिटोछिटो नेतृत्व परिवर्तनलाई मुख्य अवरोध मान्नुभएको छ। उहाँले प्रधानमन्त्री कार्यालय मातहत रहने गरी एउटा अधिकारसम्पन्न, स्वायत्त र ‘सर्वोच्च निकाय’ (एपिक्स बडी—नीति निर्माण र कार्यान्वयन गर्ने मुख्य संस्था)का रूपमा उच्चस्तरीय सूचना प्रविधि आयोग गठन गर्नुपर्नेमा जोड दिनुभएको छ। यस्तो संस्थाले देशभर डिजिटल रूपान्तरणको अभियान सञ्चालन गर्ने, ‘विषय विज्ञ’ (डोमेन एक्सपर्ट)हरूलाई नेतृत्व सुम्पिने र प्राविधिक परियोजनाहरू पूरा नभएसम्म नेतृत्व निरन्तरता दिने हो भने नेपालले छोटो समयमै ठूलो फड्को मार्न सक्ने डा. पराजुलीले विश्वास व्यक्त गर्नुभयो। साथै, डिजिटल रूपान्तरणमा अवरोध सिर्जना गर्ने नीतिहरू परिमार्जन गर्दै भविष्यउन्मुख (फ्युचर रेडी) ढाँचा र राष्ट्रिय डिजिटल सर्वेक्षणमार्फत अघि बढ्नुपर्छ।

अन्त्यमा, डा. पराजुलीले सरकारले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा स्वचालनमा लैजानुपर्ने कुरामा जोड दिनुभएको छ। नेपालमा अहिले पनि अत्यन्तै उत्कृष्ट तहको प्रविधियुक्त जनशक्ति रहेको र नयाँनयाँ प्रविधिहरूको विकास भइरहेकोले, सरकारी सेवा प्रवाहका परम्परागत र झन्झटिलो प्रक्रियालाई एआई र उच्च प्रविधियुक्त प्रणालीसँग जोड्न सके नेपालको आर्थिक रूपान्तरणका लागि यो एउटा महत्त्वपूर्ण अवसर हुने उहाँको विश्वास छ।

डा. पराजुली नेपालका एक अब्बल इलेक्ट्रोनिक्स तथा दूरसञ्चार इञ्जिनियर मात्र नभई सूचना प्रविधि क्षेत्रका एक उज्ज्वल नक्षत्रका रूपमा पनि परिचित हुनुहुन्छ। नेपाललाई सन् २०३०, २०४० र २०५० सम्म सूचना प्रविधिमार्फत समुन्नत बनाउने स्पष्ट मार्गचित्र निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनमा अहोरात्र समर्पित रहनुभएको उहाँको योगदान अत्यन्तै प्रशंसनीय छ। क्लाउड कम्प्युटिङ र ई-गभर्नेन्स विषयमा विद्यावारिधि हासिल गर्नुभएका डा. पराजुली नेपालका कम्पनी कानुन, साइबर कानुन र सार्वजनिक खरिद कानुनका विज्ञका रूपमा पनि स्थापित हुनुहुन्छ। उहाँले देशभरका अधिकांश शैक्षिक संस्थाहरूमा साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण प्रदान गरी डिजिटल सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। यसैगरी, कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ, क्लाउड कम्प्युटिङ लगायतका अत्याधुनिक प्रविधिको क्षेत्रमा पनि उहाँ अन्तर्राष्ट्रिय स्तरका विभिन्न संघसंस्थाहरूमा विज्ञका रूपमा सक्रिय रहँदै आउनुभएको छ। उहाँको दूरदर्शी नेतृत्व, ज्ञान र अनुभवले नेपाललाई डिजिटल रूपान्तरणतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

(यो विस्तृत सामग्री इञ्जिनियर डा. पराजुलीले व्यक्त गर्नुभएका विचारहरूलाई समेटेर तयार पारिएको हो। हाल उहाँ नेपाल टेलिकम प्रधान कार्यालय अन्तर्गत प्रमुख प्राविधिक अधिकृतको कार्यालय मातहत रहेको नेटवर्क रणनीति तथा गुणस्तर नियन्त्रण विभागमा प्रबन्धकको रुपमा कार्यरत हुनुहुन्छ।)