बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनाउने प्रक्रियाका लागि महत्त्वपूर्ण ठानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शनिबार बोलाइएको सचिवालय बैठक अचानक स्थगित गरिएको छ ।

आज शनिबार) बस्ने भनिएको सचिवालय बैठक आइतबारका लागि सारिएको हो ।

रास्वपाका प्रवक्ता मनीष झाका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनबमोजिम सचिवालय बैठक चैत १ गते आइतबार राखिएको छ ।

सचिवालय बैठक आइतबार बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौँमा बस्ने उनले बताए।

उनका अनुसार बैठकको कार्यसूचीमा समानुपातिक सांसद सिफारिस र विविध छन् ।

यसै बैठकले बालेनलाई प्रधानमन्त्री बनाउने प्रक्रियामा प्रवेश गर्ने ठानिएको थियो । किनभने, रास्वपाको मौजुदा विधानले बालेनलाई प्रधानमन्त्री बनाउन बाधा सिर्जना गर्छ । विधान संशोधन गरी उनलाई संसदीय दलको नेता चयन गर्ने गाँठो फुकाउनुपर्नेछ ।

निर्वाचन आयोगले तोकिएको सिट संख्याका आधारमा ३ दिनभित्र समानुपातिक सांसदका लागि नाम छनोट गरी पेस गर्न भनी गत बिहीबार दलहरूलाई पत्र पठाएको छ।

यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष १२५ र समानुपातिक ५७ गरी रास्वपाले १८२ सिट जितेर एकल सरकार गठन गर्ने हैसियत बनाएको छ ।