जेन–जी जनआन्दोलनका प्रतिनिधिहरूले गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तोकिएको समयसीमाभित्रै सार्वजनिक गरी कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले फागुन २२ गतेभन्दा एक दिन पनि म्याद नथपी प्रतिवेदन सार्वजनिक गर्न खबरदारी गरेका हुन्।

२०८२ भदौ २३ र २४ गते सम्पन्न जेन-जी जनआन्दोलनका क्रममा ७६ जना नागरिकको गैरन्यायिक हत्या तथा २ हजार २१३ भन्दा बढी व्यक्ति घाइते भएको दाबी गर्दै आन्दोलनका प्रतिनिधिहरूले उक्त घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही सुनिश्चित गर्न आयोग गठन गरिएको स्मरण गराएका छन्।

उनीहरूका अनुसार युवाहरूले भ्रष्टाचार निवारण तथा वाक्/डिजिटल स्वतन्त्रताको सुनिश्चितताका लागि शान्तिपूर्ण आन्दोलन आह्वान गरे पनि तत्कालीन सरकारको दमनका कारण हिंसात्मक अवस्था सिर्जना भएको थियो।

आन्दोलनपश्चात् संक्रमणकालीन अवस्थालाई व्यवस्थापन गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्लाई शासनको जिम्मेवारी सुम्पिएको उल्लेख गर्दै प्रतिनिधिहरूले अन्तरिम नागरिक सरकारले निष्पक्ष निर्वाचनमार्फत देशलाई संवैधानिक मार्गमा फर्काउने विश्वास व्यक्त गरेका छन्। फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न हुँदै छ।

तर आयोगको कार्यावधि पटक-पटक थपिँदै जानु र पछिल्लोपटक निर्वाचनपछि फागुन २२ गतेसम्म म्याद थपिनुले आफूहरू चिन्तित बनेको जनाइएको छ। विगतमा गठन भएका मल्लिक आयोग, रायमाझी आयोग र लाल आयोग का प्रतिवेदनहरू पूर्ण रूपमा सार्वजनिक नभएको उदाहरण दिँदै उनीहरूले यसपटक पनि प्रतिवेदन ओझेलमा पर्ने हो कि भन्ने शंका व्यक्त गरेका छन्।

प्रतिनिधिहरूले फागुन १४ गते बिहान ११ बजे प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै निर्वाचन लगत्तै प्रतिवेदन सार्वजनिक गर्ने स्पष्ट सार्वजनिक प्रतिबद्धता माग गर्ने बताएका छन्। साथै, आगामी प्रतिनिधिसभा र त्यसले गठन गर्ने सरकारलाई प्रतिवेदन कार्यान्वयन, दोषीमाथि कारबाही, पीडितलाई न्याय र दण्डहीनताको अन्त्य गर्ने जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्।

जेन–जी जनआन्दोलनका प्रतिनिधिहरूले सञ्चारमाध्यमलाई पनि प्रतिवेदन सार्वजनिकता र कार्यान्वयनको मुद्दालाई प्राथमिकताका साथ उठाउन, पीडित परिवार र घाइते आन्दोलनकारीहरूको आवाजलाई स्थान दिन तथा निर्वाचनको माहोलमा न्यायको प्रश्न ओझेलमा पर्न नदिन अनुरोध गरेका छन्।

उनीहरूले न्याय सुनिश्चित नभए पुनः सडक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएका छन्।