जिल्ला प्रशासन कार्यालय, पर्सामा सोमबार बसेको सर्वपक्षीय बैठकले तीन बुँदे निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित जिल्लाका सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका अगुवा, धार्मिक अगुवा तथा नागरिक समाजका प्रतिनिधि सहभागी बैठकले तीनबुँदे निर्णय गरेको हो ।

सदभाव समितिको अग्रसरतमा बसेको सर्वपक्षीय बैठकले आइतबार बेलुकी वीरगन्ज ११, श्रीपुरमा अशान्ति मच्चाउन खोज्नेलाई प्रहरीले कानुनी दायरामा ल्याउने र त्यसका पीडित पक्षबाट जाहेरी लिई आवश्यक प्रक्रिया यथाशीघ्र अगाडि बढाउने, यस प्रक्रियामा समुदायका अगुवाहरूले पनि सहजीकरण गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले व्यक्तिगत घटना-दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमा भाइरल बनाउने, ‘हेट स्पिच’ प्रसारण गर्नेलाई साइबर कानुन तथा प्रचलित कानुनबमोजिम तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।

यस्तै जिल्ला सुरक्षा समितिको बैठकले सोमबार बिहानदेखि लगाइएको कर्फ्यु हटाउने निर्णय गरेको छ ।

पार्किङको विषयमा दुई समुदायका युवाबीच भएको विवादले झडपको रूप लिन थालेपछि स्थानीय प्रशासनले वीरगन्जमा कर्फ्यु लगाएको थियो ।