कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा)ले मुलकको विकासलाई तीव्रता दिन समृद्धिका लागि विकास दशक घोषणा गरी सोहीबमोजिम काम गर्ने प्रतिबद्धता जनाएको छ ।

उनेपाले आइतबार चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै विकासका लागि छाता ऐन बनाउने घोषणा गरेको छ ।

नेपालको हालको जीडीपी करिब ४५ अर्ब अमेरिकी डलर रहेको छ । मुलुकको आर्थिक विकासलाई तीव्रता दिनका लागि द्रूत विकास दशक घोषणा गरी २०३० सम्ममा वार्षिक ९ प्रतिशत वृद्धि गर्दै करिब ७० अर्ब डलर पुर्‍याइने उनेपाले उल्लेख गरेको छ ।

त्यसपछि २०३५ सम्म १० प्रतिशत वृद्धिसहित करिब १११ अर्ब डलर र प्रतिव्यक्ति आय ४ हजार डलर पुर्‍याई मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने प्रतिबद्धता उनेपाको छ ।

उनेपाले द्रुत विकासका लागि प्रचलित ऐन कानुनहरूमा समसामयिक सुधार गरी विकासमैत्री बनाइने पनि उल्लेख गरेको छ । साथै तीव्र गतिमा विकास कार्यलाई अगाडि बढाउन बाधक कानुनहरू संशोधन तथा खारेज गरी छाता ऐन निर्माण गरिने बताएको छ ।

आवश्यक परेमा नेपाल पक्षराष्ट्र भएका अन्तर्राष्ट्रिय अभिसन्धिका प्रावधाहरूमा पुनरवलोकन गर्ने हदसम्मको पहल गरिने उनेपाको वाचा छ ।

साथै प्रशासनिक प्रकृयागत जटिलता एवं निर्णय प्रक्रियामा हुने ढिलासुस्तीको अन्त्यका लागि प्रशासनिक नेतृत्वलाई जवाफदेही बनाइने उनेपाका अध्यक्ष कुलमान घिसिङले बताए ।