प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएकी छन् ।
प्रधानमन्त्री कार्कीले आज जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा अवलोकन निरीक्षण गरी मतपत्र छपाइबारे जानकारी लिनुभएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित निर्वाचन आयोगका पदाधिकारी पनि साथमा हुनुहुन्थ्यो।
प्रधानमन्त्रीलाई मतपत्र छपाइबारे गरिएको ब्रिफिङ यस्तो छ-
१) प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि मिति २०८२ पुस २२ गतेबाट नमुना मतपत्र १०,९८,२०० (दश लाख अन्ठानब्बे हजार ) छपाई सम्पन्न गरी विभिन्न जिल्लाहरुमा पठाइसकिएको ।
२) मिति २०८२ पुस २६ गतेबाट समानुपातिक मतपत्र छपाइ सुरु गरी २०८२ माघ १३ गतेसम्म आवश्यक पर्ने जम्मा मतपत्र सङ्ख्या २,०८,३०,००० (दुई करोड आठलाख तीस हजार) छपाइ सम्पन्न गरी प्याकिङ्ग तथा रुजु समेत गरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको ।
३) त्यसैगरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतका लागि आवश्यक पर्ने जम्मा मतपत्र सङ्ख्या २,०३,२३,००० (दुई करोड तीन लाख तेइस हजार) छपाइ गर्नुपर्नेमा २०८२ माघ १६ गते देखि छपाइ सुरु गरी २०८२ माघ २२ गते विहान ८:०० बजेसम्म विभिन्न क्षेत्रका जम्मा ७२,६०,००० ( बहत्तर लाख साठी हजार) मतपत्र छपाइ भई ५८२५ (पाँच हजार आठ सय पच्चीस) बाकस प्याकिङ भइसकेको।
४) डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकूम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको।
५) मिति २०८२ माघ २२ गते बिहान ८:०० बजेसम्म ६० निर्वाचन क्षेत्रको छपाई सम्पन्न भइसकेको।