हुलाकको पार्सलमा पनि घुस खाने र भन्सार छली गरी राज्यलाई हानि नोक्सानी पुर्‍याउने कर्मचारीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

अर्थ मन्त्रालय, भन्सार विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखा डिल्लीबजार, काठमाडौंका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा विभाग गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा, डिल्लीबजार काठमाडौंमा कार्यरत नायव सुब्बा छविप्रसाद रिजाल नगदै घुससहित हिजो आइतबार पक्राउ परेका हुन्।

पुडासैनीको साथबाट १,४६,४२० रुपैयाँ बरामद भएको छ । पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट घुस/रिसवत बापत लिइसकेको रकम रु. १०,०००, सोही घर्राबाट स्रोत नखुलेको रकम रु. ४०,३५० र निजको साथबाट थप स्रोत नखुलेको रकम ९६,०७० समेत गरी जम्मा १,४६,४२० रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ ।

यस्तै नायव सब्बा छवि प्रसाद रिजालको साथबाट घुस लिइसकेको रकम रु. २०,००० र स्रोत नखुलेको थप रु.१८,८४८ गरी जम्मा रु. ३८,८४८ बरामद भएको छ ।

यस्तै अन्य स्रोत नखुलेको रकमसमेत गरी जम्मा रु. २ लाख ६८ हजार २८८ रुपैयाँ पनि बरामद भएको अख्तियारले जनाएको छ ।

हुलाक विभागमा अख्तियारको छापा, समातिए भन्सारमा कर्मचारी

विभिन्न व्यक्तिहरुबाट २३ वटा मोबाइल सेट पनि अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा विभाग गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजालसमेतका कर्मचारीहरुले कुरियर कम्पनीमार्फत विदेशमा कुरियर गरी विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरीपछि अख्तियार मुख्यालयले छापा मारेको थियो ।