नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काले भ्रष्टाचारबाट आर्जन गरेको पुष्टि भई अदालतले नै जफत गर्नुपर्ने ठहर गरेको जग्गा आफ्नै कब्जामा राखिरहन उनकी पत्नी शिला खड्का अदालत पुगेकी छन् ।

उनले विशेष अदालतमा हालेको निवेदनमा आइतबार प्रारम्भिक सुनुवाइ भएको छ ।

जग्गा फुकुवा गर्न खड्काको परिवारले दिएको निवेदनलाई यसअघि विशेष अदालतका तत्कालीन रजिस्ट्रारले रोकेका थिए । त्यसविरुद्ध खड्काकी श्रीमती शिला शर्मा खड्काले दिएको निवेदनमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासमा सुनुवाइ भएको हो । इजलासले बुझ्ने आदेश गरेको छ ।

गत २१ जेठमा विशेष अदालतको प्रशासनले सर्वाेच्चको फैसलाअनुसार बढे–बढाएको हालको मूल्यअनुसार मूल्यांकन गरेर त्यसअनुसार पैसा तिराएर मात्र जग्गा फुकुवा गर्न मिल्ने निर्णय गरेको थियो ।

यस मुद्दामा विशेष अदालतबाट फैसला आएपछि जफतसम्बन्धी निर्णय गर्ने कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको तयारी छ ।

तत्कालीन गृहमन्त्री रमेश लेखकले खड्काको परिवारलाई फाइदा हुने गरी गत वर्ष माघमा अध्यादेशमार्फत कसुरजन्य सम्पत्ति जफतसम्बन्धी ऐन नै हेरफेर गरिदिएका थिए । संशोधनपछि सानेपाको १७ आना जग्गा २० लाख ९२ हजार रुपैयाँ लिएर फिर्ता दिने निर्णय गरिएको थियो । सो नजिरका कारण जफत गर्नुपर्ने घरजग्गा कसुरदारहरूले छानबिनको समयकै सरकारी मूल्य तिरेर लैजाने जोखिम बढेको भन्दै विशेष अदालत प्रशासनले अस्वीकार गरेको थियो। छानबिनको समयको मूल्य र अहिलेको मूल्यमा १०औँ गुणाको फरक छ ।

कुनै जग्गाको कित्ता छुट्याउँदा भौतिक संरचनामा क्षति हुने भएमा मूल्य लिई जग्गा निजलाई छाडिदिन सक्ने प्रावधान राखेर ऐन संशोधन गरिएको थियो । त्यसलाई पनि गलत व्याख्या गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानबिन गर्दाकै समयको सरकारी मूल्यांकनको मूल्यअनुसार पैसा लिएर खुमबहादुरको १७ आना जग्गा फुकुवा गर्ने निर्णय गृह मन्त्रालयले गरेको थियो ।