राष्ट्रपति रामचन्द्र पौडेल आज जान भ्रमणमा जाने भएका छन् ।
१८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पौडेल जापान जान गरेका हुन् ।
माघ २१ गतेसम्म हुने औपचारिक भ्रमणको स्वीकृति मन्त्रिपरिषद्ले दिइसकेको छ ।
नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल एयरलाइन्सको उडान नं ४३३ बाट आइतबार राति ११:३० बजे जापान प्रस्थान गर्ने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए । भ्रमण सम्पन्न गरी उनी यही माघ २१ गते सोही एयरलाइन्सको उडान नं ४३४ बाट दिउँसो ४:३० बजे स्वदेश फर्कने कार्यक्रम छ । भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारका तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनेछन् ।
उनले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । सोही दिन राष्ट्रपति पौडेल र जापानकी प्रधानमन्त्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने तालिका छ । यस्तै, भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
यसैगरी जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनुका साथै राष्ट्रपति पौडेलले जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी श्रीमती सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू भ्रमणमा सहभागी हुनेछन् ।
नेपाल सरकार मन्त्रिपरिषद्ले भने सरकार र राष्ट्रप्रमुखले नेतृत्व गर्ने प्रतिनिधिमण्डलमा १० जनाभन्दा बढी नहुने गरी मितव्ययिता कायम गर्ने मापदण्ड पारित गरेको छ । राष्ट्रपतिको भ्रमणमा उक्त मापदण्ड उल्लंघन भएको विषयमा बिहीबारको मन्त्रिपरिषद्मा पनि छलफल भएको थियो ।