नेकपा एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ ।
पार्टीले टोलस्तरीय बैठक, भेला, निर्वाचन परिचालन समिति लगायतका समिति उपसमिति गठन लगायतका काम एकसाथ अघि बढाएको छ ।
एमालेका केन्द्रिय, प्रदेश स्तरका तथा स्थानीय नेताहरू मतदातासँग प्रत्यक्ष संवादमा जुट्दै विगतका उपलब्धि र आगामी योजनाबारे जानकारी गराइरहेका छन् । यस्तै युवा, महिला र किसानलाई लक्षित कार्यक्रममार्फत समेत एमाले सघन रुपमा मतदातामाझ पुगिरहेको एमालेले जनाएको छ ।
यसै क्रममा कमल गाउँपालिकाको वडा नंं ६ मा निर्वाचन परिचालन समिति सहित विभिन्न समिति गठन गरिएको छ । बिहीबार खयरवारीमा आयोजित भेलाले पार्टीका नेता मोहिनी खनाल संयोजक र निलकण्ठ निरौला सहसंयोजक रहेको निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिको सचिवमा वडा कमिटी अध्यक्ष युवराज पाठक छन् ।
यसैगरी देवेन्द्र पराजुलीको संयोजकत्वमा युवा, सुजिता गुरागाईको संयोजकत्वमा महिला, टंक सापकोटाको अध्यक्षमा ज्येष्ठ र खोमनाथ निरौलाको संयोजकत्वमा बुद्धिजीवी परिचालन समिति समिति गठन गरिएको पार्टीका जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज दीपक खड्काले जानकारी दिए ।
पालिकाभरि नै टोल तथा वडा समितिहरु गठन भइरहेको गाउँ कमिटी अध्यक्ष हरि ढकालले बताए । खयरबारीमा आयोजित विस्तारित वडा भेला कार्यक्रममा प्रमुख अतिथि प्रदेश कमिटी सदस्य बेनुप्रसाद शिवाकोटी, मणि भण्डारी, जिल्ला उपाध्यक्ष शिव ढुंगेल लगायतका वक्ताले आगामी निर्वाचनले राष्ट्रियता पक्षधर र राष्ट्र विरोधीको कित्ता छिनोफानो गर्ने बताए ।
ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएर केही दिन निर्वाचन क्षेत्रको अवलोकन भ्रमण गरिसकेका छन् । उनी मतदातामा आफूप्रतिको छापबारे प्रारम्भिक जाँच गरेर थप रणनीति बनाउन काठमाडौँ फर्किएका छन् ।