कुलमान घिसिङसँगै उज्यालो नेपाल उपत्यकामा, जनताबाट उत्साहजनक प्रतिक्रिया काठमाडौँ – आज उज्यालो नेपाल पार्टीका काठमाडौँ उपत्यकाका १५ जना उम्मेदवारहरूले काठमाडौँस्थित गणेश मन्दिरबाट दर्शन यात्रा सुरु गरेका छन्।
उम्मेदवारहरूले कालभैरव, इन्द्रचोक, बसन्तपुर, नरदेवीलगायत काठमाडौँका प्रमुख शक्तिपीठ तथा धार्मिक–ऐतिहासिक स्थलहरूको दर्शन गरेका हुन्। धार्मिक सहिष्णुता, सांस्कृतिक संरक्षण र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ।
दर्शन यात्राका क्रममा उम्मेदवारहरूलाई सर्वसाधारणबाट उल्लेखनीय रूपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो। स्थानीय बासिन्दा तथा श्रद्धालुहरूले उत्साहपूर्वक स्वागत गर्दै उज्यालो नेपाल पार्टीप्रति विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमका क्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनतामाझ अत्यन्तै राम्रो प्रतिक्रिया प्राप्त भएको बताएका छन्। जनताले व्यक्त गरेको समर्थन र हौसलाका आधारमा आगामी निर्वाचनमा जनताले आफूहरूलाई मत दिने विषयमा पार्टी ढुक्क रहेको उनले बताए।
उज्यालो नेपाल पार्टीले जनताको भावना, संस्कृति र विकासलाई सँगसँगै अघि बढाउँदै समृद्ध र उज्यालो नेपाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।